नलगाडको चिउरी गाउँको चोचे टोलको दलित बस्ती ध्वस्त
कार्तिक १९
जाजरकोट – जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नम्बर १ को चिउरी गाउँको चोचे टोल १७ गते राति आएको भूकम्पले ध्वस्त भएको छ ।
अधिकांश दलित समुदाय रहेको यो बस्तीमा एक सय ८६ घरधुरी रहेकामा अधिकांश घर पूर्णरुपमा र केही घर आशिंक रुपमा क्षति भएपछि चोचे टोलका सबै नागरिक घरबारविहीन भएका हुन् ।
खलङ्गाबाट डेढ घण्टाको दूरीमा रहेको यो गाउँका बाँकी रहेका अन्य घर पनि बस्न नमिल्ने गरी चिरा चिरा परेका छन् । यहाँका सबै घर ध्वस्त भइसकेका छन् ।
पीडित अविलाल विकले भन्नुभयो, “हाम्रो यो गाउँमा अधिकांश दलित समुदाय बस्दै आएका थियौँ, वर्षामा समेत पहिरोले जोखिम पारेको हाम्रो टोललाई अस्ति आएको भूकम्पले स्वाहा नै बनायो ।
अहिले यो टोलका सात सय व्यक्ति घरबारविहीन भएको उहाँले बताउनुभयो । विकले भन्नुभयो, “हामी घरबारविहीन भयौँ आफन्त गुमायौँ खानेकुरा घरमै पुरियो, लाउने कपडा पनि पुरियो अस्तिदेखि भोकभोकै छौँ । केटाकेटी चिसोले हैरान भइसके ।