प्रधानमन्त्री प्रचण्डले पाउलान विश्वासको मत यस्तो छ हिसाब
काठमान्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बुधवार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।
२१ फागुनमा नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्रीले बुधवार विश्वासको मत लिन लागेका हुन् । सत्ता समीकरणमा रहेका ५ दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने तयारी गरेका छन् ।
नयाँ गठबन्धनमा आबद्ध नेकपा (एमाले)का ७६, नेकपा (माओवादी केन्द्र)का ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१, जनता समाजवादी पार्टी (जसपा)का १२ र नेकपा (एकीकृत समाजवादी)का १० गरी १५१ सांसदको समर्थन प्रधानमन्त्री प्रचण्डलाई छ।
प्रतिनिधिसभामा २७५ जना सदस्य संख्या हुने प्रावधान छ । विश्वासको मत लिन बहुमत (आधाभन्दा धेरै) चाहिन्छ । यो आवश्यक संख्या १३८ हुन आउँछ । यसर्थ, प्रधानमन्त्रीका लागि जुटेको १५१ आवश्यक बहुमत संख्याभन्दा १४ सिटले बढी हो ।
प्रतिनिधिसभामा यसअघिको गठबन्धनबाट बाहिरिएको नेपाली कांग्रेससँग सबैभन्दा धेरै ८७ सिट छ । यस्तै जनमत पार्टीसँग ७ र लोसपाको ४ मत छ ।
कांग्रेससँगै यी दल विपक्षमा देखिएका छन् । १४ मत भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र ४ सिट भएको नागरिक उन्मुक्ति पार्टी (राउपा) कतै खुलिसकेका छैनन् । यद्यपि, राउपाको रेशम चौधरी पक्षले भने प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । फागुन २९