नगरपालिका संघले गरेको सम्मानमा रुकुम चौरजहारी नगरपालिका सम्मानित
फागुन ३०
काठमान्डौ – नेपाल नगरपालिका संघले ५ विधामा उत्कृष्ट काम गर्ने सात वटा पालिकाहरुलाई सम्मान गरेको छ ।
संघको ३१औं स्थापना दिवसको अवसरमा विभिन्न विधाहरुमा उपमहानगरपालिका, नगरपालिकाहरुलाई सम्मान गरेको हो ।
रुकुम को चौरजहारी नगरपालिका , दाङको घोराही उपमहानगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, रौतहटको गौर नगरपालिका, चितवनको रत्ननगर नगरपालिका, ललितपुरको गोदावरी र नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिकालाई सम्मान गरिएको हो ।
संघले गरेको मूल्यांकनमा गोदावरी नगरपालिकालाइ सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेको छ । यस्तै सोही विधामा भीमदत्त नगरपालिका पनि सम्मानित भएको छ ।
वन वातावरण तथा जलवायु परिवर्तन र विपद व्यवस्थापन न्यूनीकरण विधामा उत्कृष्ट काम गरेका रत्ननगर नगरपालिका र रुकुम पश्चिमको चौरजहारी नगरपालिका सम्मानित भएका छन ।
संस्थागत सुधार वित्तीय सुशासन कायम गर्ने नगरपालिकामा घोराही उपमहानगरलाई संघले सम्मान गरेको छ ।
स्थानीय आर्थिक विकासमा फड्को मारेकोमा बुटवल उपमहानगर सम्मानित भएको छ ।
संघले आयोजना गरेको कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सम्मान वितरण गरेका थिए ।
स्थापना दिवसको अवसरमा नेपाल नगरपालिका संघले जलवायु परिर्वतन सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम समेत राखेको थियो ।