Gold

संसद्को सार्वजनिक लेखा समिति ऋषिकेश पोखरेलकी पत्नीविरुद्द प,क्राउ पुर्जी

Naumule Migrate

काठमाडौँ – संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाविरुद्ध सहकारी ठगी कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।

मोरङको धनपालथान–३ मा सञ्चालित उमा,गौरी कृषि सहकारीको बचत अपचलनमा संलग्न देखिएपछि मोरङ जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेको हो ।

उक्त सहकारी ठगीमा मंसिर २७ मै कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ ।
एमाले नेता पोखरेलकै पहलमा स्थापना गरिएको सहकारीमा कोइरालालाई सञ्चालक समितिमा राखिएको थियो । उनी २०७२ देखि २०७८ सम्म सञ्चालक सदस्य थिइन् ।

कोइरालासमेतको हस्ताक्षरबाट भएको निर्णयको आधारमा सहकारीले बुटवलस्थित आरएसडीसी लघुवित्तबाट ११ करोड ५६ लाख ऋण लिएको थियो ।

ऋण नतिरेपछि लघुवित्तले यसअघि नै कोइराला लगायतलाई कालोसूचीमा राखिसकेको छ । सहकारी संकटमा परेपछि कोइरालाले २०७८ माघ ५ मा राजीनामा दिएकी थिइन् ।

उजुरीमा कोइरालाको नाम भए पनि प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले गत भदौ २४ मा सहकारीका अन्य १० जनामाथि मात्र अनुसन्धान गर्न प्रहरीलाई निर्देशनात्मक पत्र पठाएको थियो ।

त्यति बेला राजनीतिक दबाबमा कोइरालाको नाम हटाइएको भन्दै प्रश्न उठेको थियो । इलाका प्रहरी कार्यालय रंगेलीले गरेको अनुसन्धानमा रकम अपचलनमा कोइरालासमेत संलग्न देखिएपछि २६ जनाविरुद्ध साढे २२ करोड बिगो र ८ वर्ष कैद मागदाबी गरेर जिल्ला अदालतमा गत बिहीबार मुद्दा दायर गरिएको हो ।

त्यसअनुसार पहिले पक्राउ परेका एक जनाबाहेक कोइरालासहित २५ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

सहकारी ठगीमा बलियो राजनीतिक पहुँच भएका व्यक्ति मुछिएको यो पहिलो घटना होइन । सर्वसाधारणले सहकारीमा गरेको बचत हिनामिनामा नेता, नेताकी पत्नी वा बलियो राजनीतिक पहुँच भएका व्यक्ति जोडिएका घटना एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् ।

तीमध्ये कतिपय फरार छन् भने कोही पक्राउ परेर अदालतमा मुद्दा चलाइएका छन् । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् । सूर्यदर्शन सहकारी ठगीमा उनीसहित कुल ५१ जनालाई प्रहरीले आरोपित भनेको छ ।

एमालेका पूर्वसांसद तथा सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ सहकारी ठगीकै अभियोगमा जेलमा छन् । सिभिल सहकारीमा सर्वसाधारणले जम्मा गरेको करिब ८ अर्ब अपचलन गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

सोही कसुर अनुसन्धानका लागि २०७८ असोज १८ मा पक्राउ परेका तामाङ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि डिल्लीबजार कारागारमा छन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा भने तामाङलाई विशेष अदालतले २०८० माघमा दोषी ठहर गरिसकेको छ । तामाङको मुद्दामा फैसला गर्ने क्रममा अदालतले सहकारीको रकम निजी कम्पनीमा लगानी गर्नु दण्डनीय कसुर मानिने व्याख्या गरेको छ ।

रकम अन्यत्र लगानी गरेर व्यक्तिगत लाभ लिए सम्पत्ति शुद्धीकरण कसुर हुने अदालतको ठहर छ । ‘सहकारीको रकम निजी कम्पनीमा लगानी गर्ने र त्यसबाट व्यक्तिगत फाइदा उठाउने मनसायबाट गरिने कार्यलाई सम्पत्ति शुद्धीकरणको कसुर हुने,’ फैसलामा भनिएको छ ।

तामाङ दोस्रो संविधानसभामा एमालेका तर्फबाट सदस्य थिए । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा छन् ।
२०८० वैशाख ७ मा तरलता अभाव देखाएर सहकारी बन्द गरेका नेपाली त्यही वर्ष जेठ ४ देखि बेपत्ता भएका थिए ।

उनीविरुद्ध १ हजार ५ सय ४३ बचतकर्ताले रकम ठगीको आरोप लगाएर जाहेरी दिएका थिए ।

जाहेरीका आधारमा अनुसन्धान गरिएपछि सरकारी वकिलको कार्यालयले २०८० असार २५ मा १ अर्ब ५४ करोड रुपैयाँ ठगी गरेको भन्दै अदालतमा मुद्दा दायर गरेको थियो । प्रहरीले नेपालीलाई गत असोजमा भारतको नयाँदिल्लीमा पक्राउ गरेर ल्याएको थियो ।

त्यसपछि उनलाई बागलुङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । नेपाली एमालेबाट लगातार दुई पटक निर्वाचित मेयर हुन् । एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागका सचिव कृष्णबहादुर (केबी) उप्रेती सहकारी ठगीकै अभियोगमा डिल्लीबजार कारागारमा छन् ।

उनको नेतृत्वमा रहेका राष्ट्रिय सहकारी बैंक र आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थामा ६ अर्ब २६ करोड ८५ लाख बचत अपचलन भएको थियो । उप्रेतीलाई प्रहरीले गत असारमा पक्राउ गरेको थियो । करिब एक महिनापछि मुद्दा चलाइएकामा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

कान्तिपुर सेभिङ्स एन्ड क्रेडिट कोअपरेटिभ (सहकारी संस्था) का अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी र पूर्वअध्यक्ष चन्द्रबहादुर ९सीबी० लामा अहिले डिल्लीबजार कारागारमा छन् । लामा २०७४ को निर्वाचनमा कांग्रेसबाट काभ्रेमा उम्मेदवार बनेका थिए ।

कान्तिपुर सेभिङ्समा करिब ८ अर्ब रुपैयाँ हिनामिना भएको छ । लामा पशुपति सहकारीको बचत अपचलनमा पनि जोडिएका छन् । उनी गत जेठमा पक्राउ परेका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक तथा पूर्वप्रबन्ध निर्देशक लामिछानेलगायतमाथि अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइसकेको छ ।

सरकारी वकिलले मुद्दा चलाएपछि पुर्पक्षको बहस हुनेछ ।
सूर्यदर्शन सहकारी ठगीका आरोपित तथा गोर्खा मिडियाका सञ्चालक कुमार रम्तेल यसअघि नै पुर्पक्षका लागि कास्की कारागारमा छन् । राजनीति गर्न लामिछाने गोर्खा मिडियाबाट बिदा भएपछि रम्तेल सञ्चालकका रूपमा भित्रिएका थिए ।

लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिम, भरतपुरको साहारा चितवन र वीरगन्जको सानो पाइला सहकारीको बचत ठगीमा पनि अनुसन्धान चलिरहेको छ । पुष ३

 

Naumule Badhipahiro