काठमान्डौ – अन्तरिम सरकार गठन प्रक्रियाका सह–संयोजक तथा जेन–जी क्रान्तिका प्रमुख अगुवा अर्जुन शाहीले भ्रष्ट र असफल सरकारलाई अपदस्त गर्दै जेन–जीको नेतृत्वमा नयाँ सरकार गठन अपरिहार्य भएको स्पष्ट पारेका छन्।
शाहीका अनुसार वर्तमान सरकारले जेन–जी आन्दोलनसँग गरिएका प्रतिबद्धता र बाचाहरू पूरा गर्न नसकेको मात्र होइन, सरकारलाई जवाफदेही बनाउन खोज्दा राज्यसत्ताको दुरुपयोग गर्दै राजनीतिक प्रतिशोधका आधारमा झुट्टा मुद्दा लगाएर आवाज दबाउने प्रयास गरिरहेको छ।
उनले भने,
“जेन–जीले देशमा सुशासन, पारदर्शिता र युवाको नेतृत्व स्थापित गर्ने स्पष्ट एजेन्डासहित आन्दोलन गरेको हो। तर प्रतिगामी सोच बोकेको सरकारले ती बाचाहरू पूरा गर्नु त परै जाओस्, सरकारलाई प्रश्न गर्दा मुखै बन्द गर्ने शैली अपनाएको छ।”
झुट्टा मुद्दामार्फत दमनको आरोप
शाहीले आफूविरुद्ध लगाइएका मुद्दाहरू राजनीतिक रूपमा प्रेरित, बनावटी र तथ्यहीन रहेको दाबी गर्दै यस्ता कदमले लोकतन्त्र र विधिको शासनलाई कमजोर बनाउने चेतावनी दिए।
उनका अनुसार आलोचना र असहमतिको सम्मान गर्न नसक्ने सरकार जनताको विश्वास गुमाइसकेको छ।
जेन–जी नेतृत्व नै निकास
राजनीतिक संक्रमणको यो संवेदनशील चरणमा देशलाई निकास दिन पुराना, भ्रष्ट र जवाफदेहीविहीन संरचनाबाट होइन, जेन–जीको नेतृत्वमा आधारित वैकल्पिक सरकार आवश्यक रहेको शाहीको धारणा छ।
उनले युवाको नेतृत्व, नागरिक सहभागिता र संस्थागत सुधारलाई केन्द्रमा राखेर अन्तरिम सरकार गठन गरिनुपर्ने बताए।
लोकतान्त्रिक मूल्यको रक्षा आवश्यक
शाहीले दमन, डर र झुट्टा मुद्दाबाट कुनै पनि आन्दोलन रोकिने अवस्था नरहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, नागरिक अधिकार र संविधानको रक्षा गर्न जेन–जी आन्दोलन अझ सशक्त रूपमा अघि बढ्ने चेतावनी दिएका छन्।
उनको भनाइमा,
“यो लडाइँ कुनै व्यक्तिको होइन, यो देशको भविष्य, युवाको अधिकार र लोकतान्त्रिक शासन प्रणालीको रक्षा गर्ने लडाइँ हो।”