बाचा अनुसार बिहे नगरेपछि प्रेमिकाले गरिन बलात्कारको उजुरी ,,

असोज १५ वीरगन्ज – वाचा अनुसार प्रेमीले बिहे नगरेपछि प्रेमीकाले बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन् । आफ्नै प्रेमिकाले बलात्कारको आरोप लगाउँदै उजुरी दिएपछि आरोपित प्रेमी घर छाडेर फरार भएका छन् । बाराको जीतपुर सिमरा उपमहानगरपालिका,२० बेल्वाकी १८ वर्षीया किशोरी र वीरगञ्ज महानगरपालिका,२० का २१ वर्षीय युवाबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो । दुवैले आपसी सहमतिमा लामो समयदेखी शारीरिक सम्बन्धसमेत राखेको खुलेको छ ।

प्रेम सम्बन्धमा रहेका दुवैले बिहे गर्ने बाचा एक आपसमा गरेका थिए । तर सम्शादका अभिभावक उनीहरुको बिहेको पक्षमा थिएनन् । अभिभावकले बिहेको मञ्जुरी नदिए पनि सम्शादले प्रेमिकालाई बिहे आश्वासन दिँदै आएका थिए ।बिहेकै लागि नै भनेर सम्शादले प्रेमिकालाई गत शनिवार सिमरास्थित ठुलीआमाको घरमा लिएर गएका थिए । तर ठुलीआमाको घरमा पुगेपछि अचानक सम्शादले बिहे गर्न नसक्ने बताएपछि आक्रोशित प्रेमिकाले आइतवार जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर प्रेमीले बलात्कार गरेको भन्दै उजुरी दिएकी हुन् ।

 

उजुरीमा उनले सम्शादले आफुलाई विभिन्न प्रलोभन दिएर पटक पटक जबरस्ती करणी गरेको बताएकी छन् । उनले आफूमाथि यही शनिवार पनि बलात्कार भएको उल्लेख गरेकी छन् । उजुरीमा ती किशोरीले सम्शादसँग आफनो प्रेमसम्बन्ध रहेको खुलाएकी छैनन् । पर्सा प्रहरीले घटना बाराको भएकाले पीडित किशोरीलाई सोमबार जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको पर्सा प्रहरीले जनाएको छ ।

बाराका प्रहरी नायव उपरीक्षक रन्जितसिंह रौठौरले पनि उजुरीसहित किशोरीलाइ पर्सा प्रहरीले सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पठाएको जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीले बाचा अनुसार आजादले विहे गर्न नमानेपछि बलात्कारको उजुरी दिएको बताएको प्रहरी नायव उपरीक्षक राठौरले जानकारी दिए । किशोरीको उजुरी पछि आरोपित सम्शाद घर छाडेर फरार छ्न । उनको खोजि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। पीडित भनिएकी किशोरीलाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ ।