त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुटिक बन्दै ,

पुस ७ ,काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको कामलाई तीव्रता दिइएको छ । प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष निर्देशनमा ६ महिना भित्र विमानस्थललाई ‘बुटिक विमानस्थल’को रुपमा परिणत हुनेगरी सुधारको कामलाई तीव्रता दिइएको हो ।

नेपाली मौलिकता झल्कने खालका गेट, झ्यालको व्यवस्थापन, पर्यटकको सत्कारका लागि पानी भरिएको गाग्रो राखेर स्वागत गर्ने लगायतका नेपाली मौलिकतासहितको व्यवस्थापन गरेर यो विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गर्न लागिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

त्यसका लागि विमानस्थलले पर्यटकहरुको स्वागतका लागि आवश्यक गाग्रो राख्ने लगायतका कामलाई सुरु गरिसकेको छ । पर्यटकहरुलाई आकर्षित हुने खालका झयालहरुमा आँखी झ्याल बनाउने लगायतका कामहरु पनि सुरु गरिएको छ ।

विमानस्थललाई बुटिक विमानस्थलमा परिणत गर्न आवश्यक सर्भेका लागि ५ जना इन्जिनियरहरु परिचालन गरिएको छ । महाप्रबन्धक क्षेत्रीले विमानस्थललाई बुटिक विमानस्थलमा परिणत गर्न नेपाली मौलिकता झल्कने गरी आवश्यक व्यवस्था गर्न ५ जना इन्जिनियरहरुको सर्भेको काम सुरु गरेको पनि जानकारी दिए ।

विमानस्थल सुधार कार्यक्रम अन्तरगत आगन्तुकहरुको बस्ने कुर्सी एक हजार वटा हाल थप गरिएको छ । त्यसैगरी विमानस्थल भित्र एसी पनि संचालनमा ल्याइएको छ । विदेशी पर्यटकहरुलाई ध्यानमा राखेर एसीको पनि उचित प्रबन्ध गरिएको पनि विमानस्थलले जनाएको छ ।

६ महिना भित्र उत्तरतिर रहेको नेपाली सेनाको व्यारेक रहेको जग्गा पनि लिएर विमानस्थललाई बुटिक विमानस्थलको रुपमा परिणत गर्ने विमानस्थलको तयारी छ । त्यसका लागि नेपाली सेनासँग सो जग्गाबारे छलफल गर्ने पनि महाप्रबन्धक क्षेत्रीले बताए ।

नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा सुधार गरेर मात्रै सन् २०२० को ‘नेपाल भ्रमण वर्ष’लाई सफल बनाउन सकिने योजना अनुसार पर्यटन मन्त्री रवीन्द्र अधिकारी आफै सो विमानस्थलको सुधारको काममा सक्रिय भएका छन् ।

यो विमानस्थलमा बुटिक विमानस्थलको रुपमा विकास गर्ने योजना भने प्रधानमन्त्री ओलीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले तय गरेको हो । विमानस्थललाई २१ घण्टा बाट २२ घण्टा सुचारु गरिएको छ। विमानस्थलको ट्याक्सी स्थललाइ पनि सुधारको कार्य भईरहको छ ।