सोधपुछको लागि भनेर लगेका युवालाई प्रहरीले कुटेर हिजो देखि बेहोस अझै होस् आएन
असार १३ ,धनुषा – धनुषामा प्रहरीले१५ वर्षीय किशोरलाई ज्यादती गर्दै कुटपिट गरेको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ४ ननुपट्टीका १५ वर्षीय बालक रविशंकर कुमार पण्डितलाई धनुषाको शहिदनगर नगरपालिका यदूकुहा स्थित ईलाका प्रहरी कार्यालयमा लगेर कुटिएको पाईएको हो ।
बिनाकारण प्रहरीले चोरीको आरोप लगाउंदै प्रहरीले उनीमाथि बेहोस हुने गरि कुटपिट गरेको हो। किशोर अहिले पनि बेहोस छन् उनलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ। मनिष गुप्ताको घरमा चोरी भएको थियो ,चोरी भएपछि मनिषले प्रहरीलाई खबर गरेका थिए।
कुटपिट भएका युवा मनिषको घरमा सधै दुध पुर्याउन जाने गरेको किशोरका काका बिन्देश्वर पण्डितले बताए। प्रहरीले लगेर सोध पुछ गर्नुकोस उल्टै शनिबार राति १२ बजे प्रहरी चौकीमा लगेर बेहोस हुने गरि कुटेको पिडितका काकाले बताए।
चोरी भएको मनिष गुप्ताको घरमा आफु दूध पुर्याउन सधैँजसो गएपनि चोरी नगरेको भएपनि प्रहरीले सोधेर चोरी नगरेको भनेपछि पाईपले आफूलाई कुटेको बताए। किशोरको दुवै पैताला, हातको औला, खुट्टाको औला सुन्निएको र खुट्टाको तिघ्रामा पाईपको निलडाम बसेको छ।
यता किशोरका पिता शत्रोहन पण्डितले घरमा कोही नभएको बेला बोलाएर प्रहरी चौकीमा लगेर पिट्नु आफुहरुमाथि अन्याय भएको बताए। उनले भने, ‘सोधपुछ गर्नुथ्यो गर्यो तर मेरो छोरालाई बेहोस् हुने गरी नदेखिने ठाउँमा पाईपले पिटेको छ।’

