विप्लवको बन्दले देशभरका शैक्षिक संस्था बन्द ,

Naumule

माघ २४ ,काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल क्रान्तिकारी ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

अखिल (क्रान्तिकारी) का कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई यही माघ १७ गते मोरङको विराटनगरमा गिरफ्तारी गरिएको विरोधमा शैक्षिक हड्ताल गरिएको सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न विसं २०६८ जेठ ११ मा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरेपनि त्यसको पटक–पटक उल्लङ्घन हुँदा पढाइ प्रभावित भएको हो ।

काठमाडौँ उपत्यकालगायत स्थानमा आज बिहान विद्यालय जान तयारीमा रहेका र गइसकेका विद्यार्थी एकाएक बन्दको खबरले विद्यालय जान पाएनन् । कतिपय विद्यालयले भने जोखिम मोलेरै पनि पढाइ सञ्चालन गरिरहेका छन् ।

राजधानी देखि विभिन्न जिल्लामा विद्यार्थीहरुको पढाईमा बाधा पुगेको छ तर भक्तपुर र केही जिल्लामा भने यस्ता राजनीतिक हड्तालमा विद्यलाय खुल्लै रहँदै आएको छ ।

Gurvakot

सरकारले जारी गरेको विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वयन निर्देशिका,२०६८ मा विद्यालयमा बन्द, हड्ताल, राजनीतिक सशस्त्र गतिविधि गर्न नपाइने उल्लेख छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले राजनीतिक मुद्दामा विद्यालय बन्द गरिने संस्कारको अन्त्य नहुनु र सरकारले सुरक्षाको प्रत्याभूति नदिनु दुखद् भएको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको फ्ल्यास रिपोर्ट, २०७४ का अनुसार हाल मुलुकका ३५ हजार ६०१ विद्यालय छन् । यसमा २७ हजार ८८३ सामुदायिक र निजी प्रकृतिका विद्यालय छ हजार ५६६ र अन्य धार्मिक प्रकृतिका विद्यालय छन् । कक्षा १ देखि १२ सम्म कूल ७३ लाख ९१ हजार ५७४ विद्यार्थी अध्ययनरत छन् ।

मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले आजको शैक्षिक हड्तालबारे आधिकारिक रूपमा कुनै जानकारी नभएको र यस्तो हड्ताल हुनु बालबालिकाको पढ्न पाउने अधिकारको विरुद्ध भएको बताए ।

त्यस्तो गतिविधि बेलाबेलामा भइरहेकामा हालसम्म कुनै कारवाही भएको पाइएको छैन । विद्यालय शान्ति क्षेत्रको अवधारणाप्रति प्रमुख राजनीतिक दल, शिक्षक तथा विद्यार्थी सङ्गठनले समर्थन गर्दै कार्यान्वयनमा पटक,पटक प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

 

Bangad kupinde