नौ सय मेगावाटको अरुण तेस्रोमा लगानी सम्मेलन ,,
चैत,१६ काठमाडौं – नेपाल लगानी सम्मेलनमा विभिन्न क्षेत्रका १५ वटा परियोजनाका लागि हस्ताक्षर भएको छ । भारतीय कम्पनी सतलज जलविद्युत निगमले निर्माण गरिरहेको ९ सय मेगावाटको अरुण तेस्रोमा लगानी जुटेको छ ।
शनिबार सम्पन्न भएको लगानी सम्मेलनका क्रममा तीन बैंकले लगानी प्रतिवद्धता जनाएका हुन् । स्टेड बैंक अफ इण्डियाले ६ हजार ५६० करोड, एभरेष्ट बैंकले ८१२.६१ करोड र नविल बैंकले ४८७.५८ करोड ऋण दिने छन् ।
लगानी बोर्ड र आयोजनाको प्रवर्धक सतजल विद्युत् निगमबीच सन् २०१४ मा नै परियोजना विकास सम्झौता भएको थियो । सम्झौताका आधारमा कम्पनीले सङ्खुवासभामा आयोजना निर्माण गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले गत वैशाखमा आयोजनाको शिलान्यास गरेका थिए । आयोजनाको १५ प्रतिशत भौतिक निर्माण पूरा भएको छ ।
जलप्रवाहमा आधारित आयोजना सार्वजनिक–निजी साझेदारीअन्तर्गत निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा अगाडि बढाइएको हो । सम्झौताअनुसार आयोजनाबाट नेपालले १९७ मेगावाट विद्युत् निःशुल्क पाउनेछ । बाँकी बिजुली कम्पनीले भारत निर्यात गर्नेछ।
आयोजनाबाट नेपालले कूल रु एक खर्ब ६ अर्बभन्दा बढी रोयल्टी पाउने र ७७ अर्ब बढी राजश्व पाउने बोर्डको आँकलन छ ।आयोजना सञ्चालनमा आएको २५ वर्षपछि पूर्ण सञ्चालित अवस्थामा नै निर्माणकर्ता कम्पनीले नेपाल सरकारलाई आयोजना हस्तान्तरण गर्नुपर्नेछ ।