प्रचण्ड मल्लद्वारा लिखित राजेन्द्रलक्ष्मीको कथा

रंग दर्पण १० –   काठमाडौं =ख्वापा नाट्य समूहले शिल्पी नाटकघरमा ‘राजेन्द्रलक्ष्मी’ मञ्चन गरेर उनको नेपाल एकीकरण अभियान दर्शकसामु पस्केको छ । एक सातासम्म नाटक मञ्चन गरिएको थियो । दर्शकको आकर्षक प्रतिक्रिया बटुल्दै यो चरणको नाटक मञ्चन कार्यक्रम समापन गरियो ।

नाटक पुस २५ गतेदेखि मञ्चन सुरु गरिएको थियो । प्रचण्ड मल्लद्वारा लिखित नाटकको प्रदीप खड्गी पासाले निर्देशन गरेका हुन् । पृथ्वीनारायण शाहले गरेको सुरु गरेको नेपाल एकीकरण अभियानलाई नायबी राजेन्द्रलक्ष्मीले निरन्तरता दिएकी थिइन् । नाटक उनको त्यही अभियानको सेरोफेरोमा घुमेको छ । उनले लमजुङ, तनहुँ र गोरखा आक्रमण गरेको इतिहास नाटकमा प्रस्तुत गरिएको छ ।

इतिहासका नारी पनि कमजोर थिएनन् भन्ने यथार्थ नाटकमा देखाइएको छ । युद्धमा होमिएका नारीले प्राप्त गरेको विजयको कथा नाटकमा छ । नाटकले राष्ट्रप्रेम, सद्भाव र शासकको प्रजाप्रेम कस्तो हुनुपर्छ भन्ने देखाइएको छ । परिआएको खण्डमा नारी पनि युद्धमा होमिएर देशलाई बचाउन सक्छन् भन्ने सन्देश यसले दिन खोजेको छ । यसअघि यो नाटक स्वर्गीय राजा वीरेन्द्रले २०५८ सालमा तत्कालीन वीरेन्द्र सभागृहमा हेरेका थिए । उति बेला यो नाटक लेखक प्रचण्ड मल्लले नै निर्देशन गरेका थिए । राजा वीरेन्द्रले हेरेको अन्तिम नाटक यही हो ।

lekbesi

नाटकको मुख्य भूमिका एना देउजाले निर्वाह गरेकी थिइन् । उनी राजेन्द्र लक्ष्मीको भूमिकामा थिइन् । हेमन तण्डुकार, अर्जुन बोहरा, सुरज सुवेदी, दिलीप विष्ट, सञ्जय माली, सुरेन्द्र कटवाल ,लेविदत्त थापा, अस्मिता पौडेल, दीपेश काफ्ले, केशव सिंह ठगुना, आयुष प्याकुरेल, महेश पौडेल, किरण चापागार्इं, युनिषा गुरुङ, रोहित खत्री, अनिशा कोइराला, माट्रिना दिक्रुज, विनोद पौडेल लगायतका कलाकारले नाटकमा अभिनय गरेका थिए ।