नेपाली सेनाका सहायक रथी राणासहित तीन जना बर्खास्त,

साउन ३२ ,काठमान्डौ – सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूरमा एक सहायकरथीसहित तीन सैनिक अधिकारीलाई सेवाबाट बर्खास्त गरेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा सहायकरथी प्रयोगजङ राणा, महासेनानी नवीन सिल्वाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने फैसला गरेको हो ।
पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा सैनिक अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो ।


सहायकरथी राणाले रु एक करोड ५२ लाख २७ हजार तथा महासेनानी सिल्वालले रु १५ लाख ७९ हजार रकम हिनामिना गरेको ठहर गर्दै अदालतले बिगो बराबरको रकम निजहरुबाट असुल उपर गर्ने निर्णय गरेको छ ।
समरी जनरल सैनिक अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर बिष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) लाई सफाइ दिने फैसला गरेको छ ।
सैनिक ऐन, २०६३ बमोजिम दोषी ठहरिएपछि उनीहरुलाई कारबाहीसहित सैनिक सेवाबाट हटाउने गरी फैसला गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
