महात्मा गान्धीको चस्मा ४ करोड ८ लाखमा विक्री ,
भदौ ७ ,लण्डन – भारतीय स्वतन्त्रतावादी नेता महात्मा गान्धीको चस्मा लिलाम बढाबढबाट चार करोड आठ लाख रुपैयाँमा विक्री भएको छ ।
बेलायतको एक लिलाम गर्ने कम्पनीले गान्धीको चस्मा अमेरिकी सङ्ग्रहकर्तालाई विक्री गरेका हुन् ।
ईस्ट ब्रिस्टल अक्शन्श लिमिटेडका अनुसार अगस्ट महिनाको ३ तारिखमा एउटा साधारण खामभित्र कुनै व्यक्तिले छोडेको अवस्थामा उक्त चस्मा फेला पारिएको थियो।
सो चस्मा करिब ५० वर्षसम्म दराजभित्र थन्किएको थियो। चस्माको स्वामित्व ब्रिस्टलको म्यानगस्ट्सफील्डका एक वयोवृद्धसँग थियो ।
उनले लिलामीबाट यति ठूलो रकम आउनसक्ने अनुमान नै नगरेको बताइन्छ ।बीबीसीले समाचारमा औल्लेख गरेअनुसार चस्मा लिलामीमा राख्ने व्यक्तिले काम नलाग्ने भन्दै फाल्ने निर्णय सम्म पुगेका थिए।
तर धेरै मात्रामा रकम आउने भएपछि चस्माबाट आउने रकम उनले छोरीसंग बाँड्ने प्रतिक्रिया दिए। गान्धीको चस्मा एक पत्रमनजुसामा भेटिएपछि यसको बारेमा खोजीनिती समेत गरिएको थियो।
चस्मा खोलेर हेर्दा धेरै पुरानो र सुनको जलप लगाईएको पाईएपछि गान्धीको चस्मा हो भनेन खुल्यो। साथै चस्मा संगै खामभित्र गान्धीको चस्मा भएको व्यहोरा लेखिएको पनि पत्र भएको पनि उल्लेख छ।