टाउकाको शल्यक्रिया गरिएपछि मृ,त्यु भयो भनेका युवाको भेटियो पेट चिरेको,शव उठाएर अस्पताल
मंसिर १० – टाउकाको शल्यक्रिया गरिएपछि मृत्यु भएका मोरङको केराबारीका एक युवाको पेट चिरेको पाइएपछि शव उठाएर पोस्टमार्टमका लागि लगिएको छ । केराबारी गाउँपालिका–९ का ३० वर्षीय विक्की ऋषिदेवको शुक्रबार विराटनगरको नोबेल शिक्षण अस्पतालमा टाउकाको शल्यक्रिया गरिएको थियो ।
उनको उपचारका क्रममा शनिबार मृत्यु भयो । परिवारका सदस्य र आफन्तले बुझेर लग्दै दाहसंस्कार गर्न ठिक्क पारेर चितामा चढाउँदै गर्दै पेट चिरेको पाइएपछि शव उठाएर सोमबार राति पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो ।
घाटमा पुर्याएर शवलाई चितामा चढाउँदै अन्त्येष्टि गर्न ठिक्क पार्दा पेट चिरेर पाँच टाँका लगाइएको देखेपछि आफन्त, परिवारका सदस्य र स्थानीय बासिन्दाले दाहसंस्कार गर्न मानेनन् । स्थानीय राम कार्कीका अनुसार राति करिब ८ बजे चितामा राखेर शवमा आगो लगाउनलाई शरीरका कपडा खोल्ने क्रममा पेटमा ब्यान्डेज गरेको देखिएको थियो ।
ब्यान्डेज खोलेर हेर्दा नाइटो नजिकै पेट चिरेर पाँच टाँका लगाएको देखिएपछि स्थानीय र आफन्तले चिताबाट उठाएर पोष्टमार्टमका लागि राति १२ बजे शव धरान पुर्याएको उनले बताए। ‘घटना शंकास्पद रहेकोभन्दै आफन्तले पोस्टमार्टम गर्नुपर्ने बताएपछि जलाउन ठिक्क पारिएको शव अस्पताल पुर्याइयो,’ कार्कीले भने, ‘टाउकाको शल्यक्रिया गरिएको अवस्थामा पेट कसरी चिरियो भन्ने हामी नै आश्चर्यमा पर्यौं ।’ टाउकोको शल्यक्रिया गरिएका व्यक्तिको पेट पनि चिरिएको घटना आफूले पहिलो पटक देखेको उनले बताए ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले परिवारका सदस्य र आफन्तले शंका व्यक्त गरेपछि पोस्टमार्टमका लागि शव धरान लैजान प्रहरीले सहजीकरण गरिदिएको बताए । ‘पेटमा चोट रहेको भन्दै जलाउन तयारी अवस्थामा राखिएको शव पोस्टमार्टम हुनुपर्ने माग आफन्तले गरे,’ उनले भने, ‘त्यसका लागि प्रहरीले समन्वय गरिदिएको छ।’
अति विपन्न परिवारका विक्कीलाई स्थानीयले चन्दा उठाएर उपचारका लागि नोबेल शिक्षण अस्पताल भर्ना गरेका थिए । शुक्रबार टाउकाको शल्यक्रिया गरिए पनि सफल नहुँदा उनको शनिबार मृत्यु भयो । तर अस्पतालले उपचार खर्च तिर्न बाँकी रहेको भन्दै दुई दिनसम्म परिवारलाई नदिइकन शव रोकेर राख्यो । स्थानीयले पुनः चन्दा उठाएर सोमबार साँझ मृतकको शव बुझेर दाहसंस्कारका लागि लिएर गएका थिए ।
‘शल्यक्रिया सफल नभए पनि सबै पैसा तिर्न नसक्ने भएकाले शव परिवारको जिम्मा लगाउन हामीले बारम्बार आग्रह गर्दा अस्पतालले मानेन,’ विक्कीका आफन्त सुमन ऋषिदेवले भने, ‘अस्पतालले शव रोकेर परिवारलाई नबुझाइकन राखेपछि चन्दा उठाएर अन्त्येष्टिका लागि ल्याइएको थियो ।’ तर पेट पनि चिरेको अवस्थामा शव देखेपछि पोस्टमार्टमका लागि लग्नु परेको उनले बताए । पेट चिरेर शरीरका अरु अंग निकालेको हुनसक्ने आशंका परिवार र स्थानीयको रहेको सुमनको भनाइ छ ।
विक्कीको टाउकाको शल्यक्रिया गर्दा एक लाख ८२ हजार दुई सय रुपैयाँ खर्च भएको थियो । उक्त रमकमध्ये ५८ हजार रुपैयाँ सरकारको विपन्न नागरिक सहायता कोषबाट जुट्यो । ३८ हजार रुपैयाँ चन्दा उठाएर अग्रिम बुझाएका कारण ५५ हजार रुपैयाँ पुगेन । तर अस्पतालले नदिएपछि पुनः सोमबार चन्दा उठाएर बुझाएपछि आफन्तले शव लैजान पाएका हुन् ।
चिकित्सकले भने टाउकाको शल्यक्रिया गर्दा पेट चिर्नु सामान्य भएको बताएका छन् । ‘टाउकामा पानी जमेर शल्यक्रियाका लागि बिरामी ल्याइएको हो,’ नोबेलका वरिष्ठ सर्जन डा। प्रकाश काफ्लेले भने, ‘टाउकाको पानी बाहिर निकाल्न शल्यक्रिया अघि पाइप जडान गरेर पेटसम्म लैजानुपर्ने हुन्छ ।’ उनका अनुसार टाउकोबाट पाइप निकालेर नाइटो नजिकै पेटभित्र राखिन्छ । यो प्रकृयालाई चिकित्सकीय भाषामा ‘भेन्टिक्लो प्लेटेनियमसन्ट’ भनिने काफ्लेले बताए ।
‘शल्यक्रिया गरेर टाउकाको पानी बाहिर निकाल्न पेटमा पाइप राख्नुपर्ने भएकाले प्वाल पारिन्छ,’ उनले भने, ुटाउकोमा कानको छेउबाट पाइप निकालिन्छ र पेटमा नाइटो छेउमा राखिन्छ ।ु टाउकोमा जमेको पानी बाइपास गर्नका लागि पाइपको प्रयोग हुने गरेकाले यो एउटा शल्यक्रियाका क्रममा अपनाइने एउटा विधि भएको डा। काफ्लेको भनाइ छ ।