बिहीबार बिहानैदेखि खुवाइँदै बालबालिकालाई भिटामिन ‘ए’को क्याप्सुल
काठमाडौं, ११ मंसिर । सरकारले कोराना भाइरसको संक्रमणसँग मिल्ने लक्षण भएका बालबालिकालाई भिटामिन ‘ए’को क्याप्सुल नखुवाउन आग्रह गरेको छ । बिहीबार बिहानैदेखि भिटामिन ‘ए’को क्याप्सुल खुवाउन शुरु भएको छ । शुक्रबार पनि खुवाइनेछ ।
भिटामिन ‘ए’ क्याप्सुल खुवाउने समयमा यदि कुनै बच्चा वा स्याहारकर्तालाई ज्वरो आएको वा अन्य कोरोनासँग मिल्दोजुल्दो लक्षणहरू देखिएको छ भने भिटामिन ए को क्याप्सुल नखुवाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो । ज्वरो निको भइसकेपछि मात्र नजिकको स्वास्थ्य संस्थाबाट भिटामिन ‘ए’ क्याप्सुल खुवाउने जानकारी महिला स्वास्थ्य स्वयंसेविकाहरूमार्फत सर्वसाधरणसम्म पुर्याउन स्वास्थ्य मन्त्रालयले भनेको छ ।
बिहीबार र शुक्रबार राष्ट्रिय भिटामिन ए कार्यक्रम देशभर सञ्चालन हुँदैछ । यसअघि कात्तिक महिनामा नै भिटामिन ए र जुकाको औषधि खुवाउने गरिए पनि यस पटक कोरोना भाइरसको जोखिमका कारण पछाडि धकेलिएको थियो । परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर भीम सिङ तिङ्करीले आज र भोलि देशभरि नै भिटामिन ए र जुकाको औषधि खुवाउने जानकारी दिएका छन ।