बलात्कार पिडितलाई सुन नदिएपछि घटना बाहिरियो वडा अध्यक्षसहित ६ जना पक्राउ ,
मङ्सिर १४ ,बैतडी – बलात्कार घटना गाँउमा तमसुक लेखेर एक तोला सुन दिनेभन्दै पिडितलाई घटना बाहिर नल्याउन भनेपनि अन्तत घटना बाहिरीएको छ। घटनामा संलग्न वडा अध्यक्ष सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बैतडीको सिगास गाउँपालिका ३ की १८ वर्षीया किशोरी बलात्कार प्रकरणमा सिगास गाउँपालिका ३ का वडा अध्यक्ष शेरसिंह साउँदसहित ४ जनालाई प्रहरीले थप पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोहि ठाँउका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
घटनामा संलग्न दुई जना मनोजसिंह धामी र अमर धामीला गत बिहिबार प्रहरीले नियन्त्रणमा लिईसकेको छ। बलात्कार घटनाका मुख्य आरोपित सिगास ३ का दीपकसिंह धामी भने फरार रहेका प्रहरीले जनाएको छ ।
प्रहरीले उनि भारतमा पुगेको हुनसक्ने अनुमान र अनुसन्धान गरिरहेको बताएको छ। सिगास गाउँपालिका ३ की १८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको र गत असार १४ गते गाउँमै तमसुक बनाएर सो घटना मिलाउन खोजिएको थियो ।
मिलापत्रमा पिडित पक्षलाई कार्तिक मसान्तभित्र एकतोला सुन दिने भनिएको थियो । पीडित पक्षलाई सुन नदिएपछि बलात्कारको घटना बाहिर आएको हो ।
मुख्य आरोपितलाई भगाउन समेत वडा अध्यक्षको भूमिका रहेको हुनसक्ने भन्दै प्रहरीले यसलाई गम्भीरताका साथ लिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए ।