पत्रकार महासंघ अध्यक्षमा विपुल पोखरेल नेतृत्वको प्यानल विजयी,

चैत २८ ,काठमान्डौ – नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मालाई तीन हजार बढी मत अन्तरले पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

चैत २५ गते भएको मतदानको मतगणना शनिबार सकिएको हो । नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका पोखरेलले ६ हजार ९४२ मत पाएका छन् ।

चुनावमा १३ हजार बढी मतदाता थिए । निर्वाचन समितिका अनुसार ९५ प्रतिशत मत खसेको थियो । अध्यक्षमा पोखरेल विजयी हुँदा उपाध्यक्षमा रमेश विष्ट विजयी भएका छन् । महिला उपाध्यक्षमा बाला अधिकारी र समावेसी उपाध्यक्षमा उदय जीएम निर्वाचित भएका छन् ।

रोशन पुरी महासंघको महासचिव बनेका छन् भने गोविन्दप्रसाद चौलागाई खुला सचिव बनेका छन् । महिला सचिवमा सिर्जना अर्याल निर्वाचित भएकी छन् भने आदिवासी जनजाती सचिवमा नारायण सुन्दर किलम्बु विजयी भएका छन् ।

मधेसी सचिवमा दीपेन्द्र चौहान विजयी हुँदा दलित सचिव हेमकर्ण विक बनेका छन् । एशोसिएट सचिव पवन आचार्य बनेका छन् । कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् भने लेखनाथ न्यौपाने लेखा समिति संयोजक बनेका हुन् ।