माधव नेपालले भने ‘भ्रममा नपर्नुहोला, कुरा केही मिलेको छैन’

वैशाख २४ ,काठमान्डौ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि प्रधानमन्‍त्री केपी ओलीसँग कुनै प्रकारको सहमति नभएकोले त्यसबारेमा भ्रममा नपर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

नेपाल बिहीबार काँग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि बूढानीलकण्ठबाट सिधै शितलनिवास पुगेर राष्ट्रपतिसँग छलफल गरेको विषयलाई लिएर विभिन्‍न अनुमान र आशंका भएपछि नेपालले शुक्रबार सामाजिक संजालमार्फत आफ्नो भनाइ सार्वजनिक गरेका हुन्।

पार्टी एकताका लागि वार्ता गर्न र लचकता अपनाउन तयार रहेको बताउँदै नेपालले भनेका छन्, ‘यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन।

नेपालले फागुन २८ गते र त्यसपछि बालुवाटारमा बसेका बैठकहरुले गरेका निर्णय खारेज गर्नुपर्ने आफ्नो बटमलाइन रहेको स्पस्ट पारेका हुन् ।

उनले यसबारेमा कुनै किसिमको भ्रममा नपर्न र नअलमलिन आग्रह गर्दै सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा क्रियाशील रहन सबैलाई अपिल गरेका छन् ।

नेपालले भनेका छन्, हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो ।

यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ।

२०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं नेपालले भनेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फोन गरेर भेट वार्ताका लागि आग्रह गरेपछि नेपाल बिहीबार बेलुका शितलनिवास पुगेका थिए।राष्ट्रपतिसँगको छोटो भेटवार्ता सकारात्मक नरहेको ब्रिफिङ बिहीबार राति नै नेपालले आफू पक्षीय नेताहरूसँग गरेका थिए।

राष्ट्रपतिले नेपाललाई तपाई बरिष्ठ नेताको नाताले पार्टी गोगाउनुपर्यो भन्दै पहल गरेकी थिइन्। जवाफमा उनले एकताको सबैभन्दा ठूलो बाधक ओलिनै रहेको र यो अवस्था सिर्जना जवाफ दिएका थिए।

नेपालसँग भेटवार्ता गर्नुअघि शितलनिवासमा राष्ट्रपति भण्डारी र एमालेका अध्यक्ष एवं प्रधानमन्‍त्री केपी शर्मा ओलीकोभेटवार्ता भएको थियो।

ओलीले फागुन २८ मा आफूनिकट नेताहरुलाई बालुवाटारमा बोलाएर पार्टी विधान संशोधन गर्दै माधव नेपाल लगायतका नेताहरूको जिम्मेवारी खोसेर निष्काशान गरेका थिए। ओलीले संसद्‌मा निर्वाचित नेपालसहित तीसजनालाई स्पस्टीकरण सोधेर कारबाहीको तयारीसमेत गरेका छन्।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिदैछन् प्रधानमन्त्रीको कदमलाई नेपाल पक्षले असहयोग गर्ने संकेत पाएपछि ओलीले राष्ट्रपति मार्फत नेपाललाई सम्झाउन आग्रह गरेका थिए। ओलीले लिने विश्वासको मतमा नेपाली कांग्रेसले पनि असहयोग गर्ने बताईसकेको छ।

राष्ट्रियसभामा विपक्षीहरूसँग गठबन्धन गरेर नेपाल समूहले सरकार पक्षका उम्मेदवार रामबहादुर थापा बादलविरुद्ध अलग्गै उम्मेदवार खडा गरेको छ। विपक्षीसमेतको गठबन्धमा बादलविरुद्ध नेपाल पक्षले खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ।

राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

२०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ यो क्षेत्रबाट निर्वाचित भएका थिए ।

बादल नेकपा एमालेमा प्रवेश गरेपछि उनको सांसद पद गुमीसकेको छ ।खाली भएको यो क्षेत्रमा एमालेले बादललाई नै पुनः उम्मेदवार बनाउन चाहेको छ ,तर बादलले जित्ने पक्का नभएपछि उम्मेदवारी नदिने अडानमा छन् ।जसको विरुद्द माओवादी, कांग्रेस र जसपाको संयुक्त उम्मेदवार खिमलाल देवकोटालाई उमेद्वार बनाईएको छ।