प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनहरुको बिहीबार देखि प्रारम्भिक सुनुवाइ हुने
काठमान्डौ – प्रतिनिधिसभा विघटनका विषयमा परेका रिटमाथि आउँदाे १३ गते बिहीवार र १४ गते शुक्रबार सुनुवाइ हुने भएको छ ।
प्रतिनिधिसभा विघटनपछि सर्वोच्चमा परेका रिटमध्ये अन्तरिम आदेशको माग राख्दै दर्ता भएका १९ वटा रिटको पेसी बिहीवारका लागि तोकिएको छ ।
यस्तै संवैधानिक इजलासमा जाने ११ वटा रिटको पेसी शुक्रवारका लागि तोकिएको छ । विपक्षी दलले दर्ता गराएका र अन्य केही रिटमा सिधै संवैधानिक इजलासमा सुनुवाइको माग गरिएकाले सिधै संवैधानिक इजलासमै सुनुवाइ सुरु हुनेछ ।
३० वटा रिटमध्ये २६ वटा प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर दर्ता गरिएको छ, भने चार वटा प्रधानमन्त्रीको कदम ठिक भएको चुनाव हुनुपर्ने माग गर्दै दर्ता गरिएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी ,जसपा ,नेकपा एमाले नेपाल -खनाल समूह लगायतका विपक्षी दलले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेर पनि रिट दर्ता गराएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले जेठ ८ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ भने सर्वोच्चमा पनि रिट परेका छन् ।