मुख्यमन्त्री गुरुङले विश्वासको मत लिदै मत पाउन कठिन
जेठ २७ ,पोखरा – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत लिँदैछन्। दिउँसो १२ बजे बस्ने बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको छ ।
तर गुरुङले विश्वासको मत पाउन गाह्रो रहेको पाईएको हो। मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न प्रदेशसभाका ६० मध्ये ३१ सदस्यको साथ पाउनुपर्छ। एमालेसँग २७ जना सांसद रहेका छन् ।
एकजना स्वतन्त्रको समर्थन पनि गुरुङलाई छ। ३ सांसद रहेको जनमोर्चाको केन्द्रीय कमिटीले आफ्ना सांसदलाई गुरुङको विपक्षमा मतदान गर्न भनेको छ। तर, यस अघिदेखि नै उक्त पार्टीका सांसद कृष्ण थापा गुरुङको पक्षमा उभिएका छन्।
गुरुङको पक्षमा लागेको भन्दै थापालाई जनमोर्चाले १६ गते कारबाही गरी सांसद पदबाट हटाएको थियो। त्यसविरुद्ध उनी सर्वोच्च गएका थिए। सर्वोच्चले उनलाई सांसद कायमै राख्न २३ गते अन्तरिम आदेश गरेको छ।कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका तीन सांसद गरी ३२ जना सदस्य छन् । चारवटी दलले मुख्यमन्त्री गुरुङलाई साथ् नदिने बताईसकेको छ।
माओवादी चैत २५ मा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री गुरुङले २६ वैशाखमा राजीनामा गरेका थिए। त्यसपछि २ वा २ भन्दा बढी दलको सरकार गठनका लागि भएको आह्वानमा कसैले बहुमत पुऱ्याउन नसकेपछि संविधानको धारा १६७ को ३ अनुसार प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई नै मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। वैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका सुब्बाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानमा आज विश्वासको मत लिदै छन्।