surkhet

मानव जीवन र वर्गविभेद एक चर्चा

surkhet

असार ७ ,काठमान्डौ – जीवन एक कला हो, त्यसमा हाम्रो जन्म पहिलो कला हो भने जीवन दोश्रो कला हो । पहिलो कला सृष्टि हो । दोश्रो कला स्थिति हो । जन्म पश्चात् जीवनलाई सफल बनाउनु महान कार्य हो ।

जीवनमा सफलताको लागि इच्छाशक्ति, ज्ञानशक्ति र कर्मशक्तिको सदुपयोग गर्नुपर्छ । शुभ इच्छा र त्यसअनुसार कर्म गर्ने व्यक्तिले नै ज्ञान शक्ति प्राप्त गर्छ ।

जब निराकार आत्मा, साकार शरीर, इन्द्रिय र मनको साथ मिल्छ, तब शरीरमा शक्तिको सञ्चार हुन्छ । जन्म भएपछि आफ्नो पूर्णशक्तिको विकास गर्नु जीवनको लक्ष्य हो ।

Dailekh

जीवनमा यस महान् स्वार्थ सिद्धिको लागि परामार्थ सिद्धिको आवश्यकता पर्छ । यही कारण हो कि जीवनको सफलताको लागि सदाचार, उच्च विचार, शुभ संकल्प, विनयशिलता र श्रमशक्तिको परम आवश्यकता रहन्छ ।

सबको साथ सहभागी हुँदै प्रेमपूर्वक कार्य गर्नु, शुभ इच्छा, श्रम तथा साहस र इमान्दारीबाट धन कमाउनु, धनलाई सेवामा लगाउनु र त्यसबाट ज्ञान प्राप्त गर्नु पर्दछ ।

यही प्रक्रियाबाट जीवनलाई आन्तरिक शक्ति प्राप्त हुन्छ । कल्याण प्राप्त गरेमा मात्र व्यक्ति काम, क्रोध, लोभ, मोह, परतन्त्रता, राग, द्वेष, मृत्यु, भय लगायतका विकारहरुबाट बचेर परमानन्दको भोग भोग्न पाउँछ ।

यसैको नाम नै जीवन हो । हर मानव जीवनमा मलाई सुख छ, मलाई कुनै दुःख पिडा, अशान्ति छैन भन्ने यो संसारमा विरल्लै मात्र पाउन सक्छौं होला, चाहे महान् धनाढ्य नै किन नहोस् या गरीब नै किन ? जबसम्म मनभित्र लोभ, लालच अहंकार, घमण्ड, इष्र्या रहन्छ, तबसम्म यो मानवजीवनमा कहिल्यै सुख हुनेछैन ।

संसारका हर प्राणीमा आ–आफ्नै नियम, कर्तव्य,आहारा खाना र रुचि हुन्छन । जस्तै खानाको रुपमा बाघले कहिले घाँस खाँदैन, गाईले कहिले मासु खाँदैन, त्यस्तै घोडा कहिले बस्दैन र कर्तव्य, गुणी, आज्ञापालकमा कुकुर जस्तो प्राणी अरु कोही छैन ।

संसारका हर प्राणी हामी मानव जाती बाहेक सबैको आ–आफ्नो नियममा बसेकै हुन्छ । तर विडम्बना विवेकशील, चेतनशिल प्राणीमा सर्वश्रेष्ठ भएर पनि हामी मानवजाती अरु प्राणी सरह न कर्तव्य पालन, आज्ञाकारी र गुणी नै हुन सकेका छौं ।

खानाकै कुरा गर्ने हो भनेपनि हामी घाँस देखि मासु सम्म सबै खान्छौं । मौका पाए सबै गुण, कर्तव्य बिर्सेर, आफ्नै आमाबुबा समेतलाई तिरस्कार, अपमान गर्न पछि पर्दैर्नौं ।

हामी आफ्नो वरिपरि, चारैतिर गरिबीमा बाँचिरहेका र भयानक दुखकष्ट भोगिरहेका अनगिन्ती मानिसहरू देखिरहेका छौं , यी त्यस्ता मानिस हुन, जो आफ्नो जीविका कमाउनका लागि पसीना बगाएर रातदिन मेहनत गर्छन्, तर मानव जीवन जिउन पाउँदैनन्, वा जो इमान्दारीपूर्ण श्रम गर्न चाहेर पनि काम पाउन सक्दैनन् ।

हाम्रो मुलुकमा पनि छाक टार्न नसकी हैरानी भोगिरहेका र गरिबी र अभावको पञ्जामा परी छटपटाइरहेका मानिसहरू बहुसङ्ख्यामा छन् । भोकले छटपटाइरहेका नीला–फुस्रा अनुहार भएका, जवानीको अनुभव नगर्दै बूढो बनेका, हाड–छाला मात्रले शरीर बनेका, कठोर परिश्रम गर्दा पनि पेटभरि खान नपाएर सिकुटी भएका र रोगी बनेका अनगिन्ती नरनारी र बालबालिकाहरूका दृश्य आँखा अगाडि झल्झल्ती आउछन् ।

Gorkha

यो जीवनको दुखान्त नाटक हो — यस्तो नाटक, जसको शुरुदेखि अन्तसम्म दुखै–दुखले भरेको गाथा रहेको छ । यसमा अधिकाँश तिनै मानिसहरू हुन्, जसले आफ्नो पसीना–रगत एक गरेर समाजको धनदौलत, सुख–सुविस्ताहरू सिर्जन्छन्, तर उनीहरूले सो भोग्न पाउँदैनन्, र आफुले सिर्जेको धनदौलत उनीहरूकै लागि बन्धन र दुखको कारण बन्छ ।

अर्कोतिर मुठ्ठीभर यस्ता मानिसहरू छन्, जो ठूल–ठूला महलहरूमा ऐश–आरामको विनाउत्पादक परिश्रमको र आलस्यपूर्ण वैभवको जीवन बिताउँछन् । कस्तो लाग्छ भने उक्त जीवनले परिश्रमी जीवनको उपहास गरिरहेको छ ।

यसरी, एकातिर भयानक गरिबी तथा अभाव र अर्कोतिर धनदौलतको प्रचुरता — यो हाम्रो समाजले, प्रत्येक शोषण–आधारित सामाजिक व्यवस्थाले पैदा गरेको परिणाम हो । मानिसको हिसाबबाट हेर्ने हो भने, यो विभाजन यस रूपमा हुन आउँछ – एकातिर सम्पन्नशाली, शोषक, लुटेराको संसार र अर्कोतिर पसीना बगाउने तर पेटभरि खान नपाउने, भोका–नांगा, विपन्न, रोगग्रस्तहरूको संसार ।

उक्त दुई संसारको बीचमा एउटा ठूलो खाडल छ यस्तो खाडल, जुन शोषण–आधारित समाज अन्तर्गत झनझन फराकिलो र गहिरो हुँदैछ । घोर गरिबीको सागरमा छिटपूट धनदौलतको प्रचुरताका टापुहरू रहनु के यो नमिल्दो व्यवस्था होइन र ?

यो नै सबभन्दा प्रमुख तत्व हो, जसले हाम्रो सम्पूर्ण समाजलाई, सम्पूर्ण सामाजिक जीवनलाई दुर्गन्धीत र विषाक्त बनाइरहेको छ । गरिबीले कैयौं मानिसहरूलाई प्राकृतिक मानव–स्वभावको विरुद्ध नचाँहदा–नचाँहदै पनि विभिन्न खालका दुष्कर्म, पाप–कर्म र अपराध गर्न बाध्य पारिरहेको छ ।

सामान्यतः मानिसहरू इमान्दार काम गरेर, हात र दिमाग घोटेर मानव जीवन जिउन चाहन्छन्, तर श्रमजीवीहरूको निम्ति काम गरेर पनि मानिस जस्तो भएर जिउन मुश्किल भएको हुन्छ, र कैयौंले त जिउनका लागि हात र दिमाग घोट्ने अवसरसम्म पनि पाउँदैनन् ।

त्यस स्थितिमा जिउनका लागि, आफु र आफ्नो परिवारको जीविकाको लागि ती भोका र अर्ध–भोकाहरूको सामु एउटा मात्र विकल्प रहन्छ — त्यो हो कुनै नाजायज काम गर्नु, कुनै अपराधी काम गर्नु ।

यो बाध्यता हो, जसले उनीहरूलाई चोरी गर्न, बगली मार्न, ठग्न, डकैती गर्न वा आफु जस्तै मानिसको हत्या गर्न लगाउँछ, जसले महिलाहरूलाई आफ्नो देह–व्यापार गरेर जिउनु पर्ने बनाउँछ र जसले मानिसलाई अमानवीय ढङ्गले पशुवत् व्यवहार गर्न लगाउँछ । यो आर्थिक बाध्यताको परिणाम हो । भोकले व्याकुल रहेका र भोक–भोकै मर्ने स्थितिमा परेका मानिसहरूको निम्ति नैतिक मूल्यहरूको कुराले केही असर पार्न सक्दैन ।

गरिबीको पक्षमा उपरोक्त कुरा छ भने धनदौलतको प्रचुरताको पक्षमा पनि कुनै राम्रो कुरा पाइँदैन । समाजको धनधान्यपूर्ण अङ्गमा मानवीयता भन्ने चीज एकदमै दुलर्भ छ ।

धनको प्रचुरताले व्यक्तिलाई अल्छीको पिण्ड बनाउँछ, उसमा धनको लोभलाई झन बढाउँछ, उसलाई पाखण्डी, कपटी र अमानवीय बनाइदिन्छ । धनले उसलाई मानवीय जीवन बिताउनका लागि पूरै अयोग्य पारिदिन्छ, उसलाई नितान्त परजीवी बनाउँछ , समग्र रूपमा परजीवी ।

परजीवीवाद उसको मुख्य सिद्धान्त रहन्छ र त्यसद्वारा उसको सम्पूर्ण जीवन, सम्पूर्ण गतिविधि संचालित रहन्छ । धनको चहकमहकमा उसले आफ्नो चेतन–शक्ति र दिव्य–शक्ति गुमाउँछ । धन उसको लागि होइन, बरु ऊ धनको लागि बाँचेको हुन्छ ।

कहाँसम्म भने धन मात्र आउने भए ऊ जे पनि गर्न तत्पर रहन्छ, मुलुकको हित र जनताको हितलाई तिलाञ्जली दिन पनि किञ्चित मान्दैन । आलस्यपूर्ण जीवनले उसको दिमागलाई पाप, अपराध र षड्यन्त्र सिर्जना गर्ने यन्त्रमा परिणत गरिदिन्छ।

किशोर सुवेदी, सामाजिक राजनीतिक यथार्थ घटनालाई चित्रण गर्छन ,

 

 

salyan