माओवादीले कारबाही गरेका मेयरहरूलाई काम गर्न दिनू सर्वोच्चको आदेश
काठमान्डौ – सर्वोच्च द्लातले नेकपा माओवादीले केन्द्रबाट दल त्याग गरेर एमालेमा प्रवेश गरेका दुई जना मेयरलाई तत्काल काम गर्नमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ।
रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न नगराउन आदालतले अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलबार साह र कुशवाहाको रिट निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । अदालतको आदेशमा उनीहरुले राजीनामा नदिएको, अर्को दलको सदस्यता नलिएको, अर्को दल गठन गरेको अवस्था नदेखिएको भन्दै कामलाई निरन्तरता दिनू भनेको छ ।
माओवादी केन्द्रको वैशाख १३ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयको आधारमा निर्वाचन आयोगले असार ९ गते साह र कुशवाहलगायत जनप्रतिनिधिलाई दल त्याग सम्बन्धी कानुन अनुसार पदमुक्त भएको निर्णय गरेको थियो ।
पदमुक्त भएको जानकारी आयोगले उनीहरूलाई असार ११ गते दिएको थियो । दल त्याग गरेको अवस्थामा भने निर्वाचित जनप्रतिनिधि स्वतः पदमुक्त हुने अन्तरिम आदेशमा उल्लेख छ ।
नेकपा माओवादी केन्द्रले मेयर साह र कुशवाहसहित १४ जना स्थानीय तहका जनप्रतिनिधिले दल त्याग गरेको भन्दै पदमुक्त गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ ।