चीनसँगको सीमा क्षेत्र लाप्चामाको अनुगमनमा पुगे मुख्यमन्त्री शाही

असार २७ ,सुर्खेत – कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही सहितको टोलि उत्तर छिमेकी मुलुक चीनसँगको सीमा क्षेत्रको अनुगमन गर्न नेपाल-चीन सीमाको लाप्चामा पुगेको छ ।

शुक्रबार हुम्ला पुगेको टोलीले हुम्ला र चीनको तिब्बतबीचको सीमा क्षेत्र अनगुमन गरेको हो। गत असोजमा चीनले हुम्लाको नाम्खा गाउँपालिका-६, लाप्चा (लोलुङजोङ) क्षेत्रमा केही भवन बनाएपछि सीमा मिचिएको भन्दै विवाद भएको थियो।

मुख्यमन्त्रीसहित कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र पूर्व भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीसहितको टोली हेलिकोप्टरबाट लोलुङजोङ पुगेका थिए। ढिलाई भएपनि प्रदेश सरकारले सो क्षेत्रको स्थलगत निरीक्षण गरेका काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए ।

अहिलेसम्म त यो मुद्दा केवल हुम्लावासीको मात्रै देखिन्थ्यो, अब प्रदेश सरकारले पनि चासो दिएको छ। बिस्तारै संघीय सरकार र सिंगो नेपालीको चासोको विषय बन्ने छ,’ नेता शाहीले भने । अनुगमन पछि नेता शाहीले नेपाली भूमि तल माथि भएको बताए।

चिनियाँ भूमि हाम्रोतिर परेको देखिन्छ कतै हाम्रो भूमि चीनतर्फ परेको देखिन्छ। त्यो गडबड भएको अवस्य हो । शाही सोही क्षेत्रका जनप्रतिनिधिसमेत हुन् उनले गत वर्षपनि सीमाको अनुगमन हुनुपर्ने भन्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए।

ज्ञापन पत्रका बारेमा सरकारको ध्यानाकर्षण भएर टोली त्यहाँ पुगेको पाईएको हो। अनुगमनमा अपुगेको टोलि आजै सुर्खेत फर्किने भएको छ।