देउवा प्रधानमन्त्री भएको एक दिनमै छुटे विजय गच्छदार
काठमान्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको २४ घण्टा नबित्तै नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार धरौटी बुझाएर रिहा भएका छन् ।
आज सम्म फरार रहेका गच्छदार आज बिहानमात्र १० बजे विशेष अदालतमा उपस्तिथिति भएका थिए। ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेका गच्छदारमाथि ९ करोड ६० लाखको भ्रस्टाचार आरोप छ।
तर उनले आज १० लाख धरौटी बुझाएर छुटेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा गरेको भन्दै गच्छदारसहित १७५ जनाविरुद्ध २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
गच्छदार २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा नक्कली मोहीको विवरण समावेश गरेको अनि क्षेत्राधिकार अनुसार पनि नमिल्ने प्रस्ताव मन्त्रिपरिषद पठाएको भन्ने आरोप थियो ।
२०६६ साल चैत २९ गते मन्त्रिपरिषद्को बैठकको प्रस्ताव नं.३ मा प्रधानमन्त्री निवास विस्तार र मोही व्यवस्थापनको विषय थियो । सो प्रस्ताव तयार पार्नेमा भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव दीप बस्न्यात थिए भने उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले त्यसलाई स्वीकृत गरेका थिए ।