सल्यानमा एक यात्रुको गुडिरहेको अवस्थामा सिटमा बसेकै बेला मृत्यु

काठमान्डौ – सल्यानमा एक यात्रुको गाडी गुडिरहेको अवस्थामा सिटमा बसेकै बेला मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका,९ बेलुकाका ५४ वर्षीय लालबहादुर वलीको सोमबार गुडिरहेको गाडीको सिटमै मृत्यु भएको पाईएको हो।

सँगै यात्रा गरिरहेका कसैले पनी वलीको मृत्यु भइसकेको कुरा थाहा पाएनन्।राप्ती राजमार्गअन्तर्गत रुकुमबाट दाङको तुलसीपुर हुँदै नेपालगञ्जका लागि आउँदै गरेको बा प्र-०१००६-ख २५९४ नम्बरको हायसभित्र सिटमै बसेको अवस्थामा वलीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका हवल्दार वीरेन्द्र खड्काका अनुसार सल्यानको बागचौर नगरपालिका,२ थारमारेमा आएर गाडी रोकिएपछि मात्रै वलीको मृत्यु भइसकेको कुरा अरू यात्रुले थाहा पाएका हुन्।

थारमारेको शारदा होटलमा सोमबार दिउँसो साढे १ बजेतिर हायस गाडी आर रोकेको थियो। यात्रुहरु सबै नास्ता खान झरे पनी ओली झरेका थिएनन। खाजा खाएर गाडीमा आएकि एक जना आफन्त महिलाले ओलीलाई बोलाउन खोज्दा वलीको मृत्यु भएको पत्ता लागेको हो।

वली हायस गाडीको अगाडिको सिटमा एक्लै बसेका थिए। अलि ठूलोखाले टोपी लगाएर थोरै घोप्टो परेर बसेको अवस्थामा रहेको हुँदा कसैले पनि मृत्यु भएको होला भन्ने अन्दाज नै गरेका रहेनछन् खड्काले भने।

सिटमै बसेको अवस्थामा फेला परेका वलीको एउटा हात घुँडामा र अर्को हात कम्मरको साइडमा रहेको तथा अलिकति घोप्टो परको हुँदा अन्य यात्रुले सुतेको ठानेर कसैले घटनाबारे जानकारी नै नपाएको बयान दिएको खड्काले बताएका हुन् ।

खाना खाएर आइसकेपछि भतिजी नाता पर्ने महिलाले बोलाउन खोज्दा नबोलेपछि उनी बितिसकेको थाहा भएको थियो। उनका अनुसार मृतक वली अल्सरका बिरामी रहेको थिए।

वली रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका- १२ नुवाकोटमा तिहारको टीका लगाएर फर्किने क्रममा अगाडिको सिटमा अमृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घटनास्थलमा प्रहरी आएर मुचुल्का तयारी पारी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खलंगामा पठाउने तयारि गरिएको खड्काले बताए।