जाजरकोटमा विद्यालयको कक्षाकोठा कक्षाकोठा हो कि गाईगोठ, छुट्याउनै गाह्रो
जाजरकोटको विद्यालयको कक्षाकोठा , कक्षाकोठा हो कि गाईगोठ, छुट्याउनै गाह्रो छ । कक्षा कोठामा बालबालिका हातमा , कापीकिताब, फर्निचर र अन्य केही पनि सामग्री देखिंदैनन्
किताबकापी समातेर पढाइ गर्न लागेका बालबालिका देख्दा विद्यालयको कक्षाकोठाजस्तो लाग्छ । तर डेस्क, बेन्च, कुर्सी, कार्पेटलगायत सामग्री देख्न नपाउँदा गाईभैंसी गोठ हो कि भन्ने हुन्छ । विद्यालयको कक्षाकोठा भन्नै नसुहाउने विद्यालय हो कुशे गाउँपालिकाका–६ स्थित दुर्गादेवी आधारभूत विद्यालय, भार्म ।
दुर्गम गाउँ भार्मस्थित दुर्गादेवी आधारभूत विद्यालयका विद्यार्थीहरू चिसो भुइँमा बसेर पढ्न बाध्य छन् ।
उनीहरू फर्निचर अभावमा भुइँमा बसेर पढाइ गर्न बाध्य भएका हुन् । विद्यालय रहेको स्थान कुशे गाउँपालिकाको प्रशासनिक केन्द्र पनि हो । गाउँपालिकाको केन्द्र कायम भएपछि भार्म गाउँको परिचय बदलियो, तर, विद्यालयजस्तो शिक्षण संस्थाको अवस्था परिवर्तन हुन सकेन ।
कार्यालय भवन, मोटरबाटो, खानेपानी, विद्युत्लगायत पूर्वाधार विकासको हिसाबले गाउँपालिका सदरमुकाम भार्मको परिचय बदल्न खोजिए पनि विद्यालयमा आधारभूत पूर्वाधार विकासमा बेवास्ता भएको स्थानीय वीरबहादुर विष्टले बताए । ‘भार्ममा रहेको दुर्गादेवी आधारभूत विद्यालयको अवस्था उस्तै छ,’ उनले भने, ‘विद्यार्थी बस्ने कार्पेट र शिक्षकलाई बस्ने कुर्सीसमेत छैनन् ।’
४३ वर्षअघि स्थापना भएको विद्यालयको कक्षाकोठामा एउटा पनि फर्निचर छैन । कक्षाकोठा सफासमेत छैनन् । ‘नवआगन्तुकलाई विद्यालय भैंसी गोठ हो कि कक्षाकोठा हो ? भनेर छुट्याउन गाह्रो पर्छ,’ विष्टले भने । विद्यालय बत्तीमुनिको अँध्यारो बन्न पुगेको उनको भनाइ छ । बाल विकास केन्द्रदेखि ८ कक्षासम्मको पढाइ हुने विद्यालयमा भौतिक पूर्वाधारको अवस्था नाजुक रहेको प्रधानाध्यापक सुनरलाल चौधरीले बताए । फर्निचरको व्यवस्थाका लागि शिक्षा समन्वय एकाइलगायत निकायलाई पटक–पटक सहयोग मागे पनि बेवास्ता भएको प्रधानाध्यापक चौधरीले जनाए ।
विद्यालयमा इलेक्ट्रोनिक हाजिरी तथा तीन सय वाट क्षमताको सोलार सेटका साथै कम्प्युटरको व्यवस्था छ । तर, कम्प्युटर उपयोगविहीन छ । सोलार भने विद्यालयका शिक्षक र स्थानीय अभिभावकलाई मोबाइल चार्ज गर्ने काममा मात्र सीमित छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटबाट विद्यालयमा इलेक्ट्रोनिक हाजिरी, कम्प्युटर र सोलारको व्यवस्था गरेको हो ।
विद्यालयमा २० जना बाल विकास केन्द्रमा अध्ययन गर्ने बालबालिकासहित एक सय ६९ विद्यार्थी छन् । कक्षाकोठामा बस्ने बेन्च तथा कार्पेटको व्यवस्था नहुँदा भुइँमा बसेर पढ्न बाध्य भएको विद्यार्थी हरि विष्टले बताए । भुइँमा बस्दा चिसो लाग्ने, धूलोले कपडा छिट्टै फोहर हुनेलगायत समस्याले सताउने गरेको उनको भनाइ छ ।