रक्तचन्दन सहित दुई जना प,क्राउ
माघ २

काठमान्डौ – रक्तचन्दन तस्करी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
गएराति काठमाण्डौ र भक्तपुरको सीमा क्षेत्र काँडाघारीबाट चार सय ६२ किलो रक्तचन्दनसहित काठमाण्डाैका रमेश थापा र सिन्धुपाल्चोककाे बलेफीका ज्ञानबहादुर तिमिल्सिनालाई पक्राउ गरेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरूले केही महिना अगाडि नै रक्तचन्दन ल्याएर तिमल्सिनाको कोठामा राखेको र अर्को व्यक्तिलाई बुझाउने तयारी गर्दै गर्दा सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
रक्तचन्दन कहाँबाट ल्याइएको हो र गन्तव्य कहाँ हो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ ।
नेपालमा लामो समयदेखि रक्तचन्दनको तस्करी रोकिएकोमा फेरि शुरू भएको देखिएको हो । रक्तचन्दन विशेषगरी भारतबाट चीनतर्फ तस्करी हुने गरेकोले नेपाल ‘ट्रान्जिट’ बनेको देखिन्छ ।
यसअघि २०६० को दशकमा रक्तचन्दन भारतबाट नेपालको बाटो हुँदै सङ्गठित रूपमा चीन तस्करी हुने गरेको थियो ।
त्यस बेला राजनीतिक दलका केही नेताकै संरक्षण रहेको पाइएको थियो । पछि सरकारले नै विशेष अभियान चलाएपछि तस्करी रोकिएको थियो । त्यस बेला बरामद गरेको ठूलो परिमाणको रक्तचन्दान अझै पनि गोदाममै छ ।
रक्तचन्दनलाई विश्व वन्यजन्तु तथा वनस्पतिको नियमन गर्ने अभिसन्धि (साइटिस) ले सङ्कटापन्न वनस्पतिको सूचीमा राखेको छ जसअनुसार ओसारपसार प्रतिबन्धित हुन्छ ।

