एमसीसी जस्ताको तस्तै पास गर्न सकिदैन : श्रेष्ठ

काठमान्डौ – माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्न नसकिने बताएका छन्।
पार्टीको पोखरा महानगरपालिका समितिको दोस्रो अधिवेशन उद्घाटनमा शनिबार उनले यस्तो बताएका हुन् । सत्तारुढ दल नेपाली कांग्रेस पनि परिमार्जन नगरी एमसीसी पास गर्ने पक्षमा नरहेको श्रेष्ठले बताए।
नेपाली कांग्रेसले गठबन्धन नै तोडेर एमसीसी पास गर्छ जस्तो लाग्दैन यदि त्यसो भयो भने गठबन्धनका निम्ति राष्ट्रियतामा हाम्रो पार्टीले सम्झौता गर्दैन उनले भने। यस्तै आगामी चुनावमा कुन पार्टीसँग गठबन्धन गर्ने भन्नेबारे पार्टीमा निर्णय नभइसकेको श्रेष्ठले बताए ।
पार्टीको स्थिति अन्य पार्टीका धारणा र राष्ट्रिय आवश्यकताका आधारमा कुन-कुन पार्टीसँग चुनावी गठबन्धन गर्ने भन्ने टुंगो लाग्छ । अहिलेको गठबन्धनमा भएका दलमध्ये कसै न कसैसँग गठबन्धन हुन्छ । सबैसँग हुने कि नहुने भन्ने एउटा निर्णयमा पुगिसकेका छैनौं नेता श्रेष्ठको भनाई थियो ।
