प्रचण्डले काङ्ग्रेसलाई भने एक्लै हिँड्ने अहंकार गर्दा ओरालो लाग्नुपर्ला
मंसिर २५, काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै हिँड्ने अहंकार गर्दा ओरालो लाग्नु पर्ने बताएका छन ।
कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै दाहालले राजनीतिक दलहरूबीच समझदारी कायम गरेर सुशासन र विकासमा लाग्नुपर्ने बताएका हुन् ।
कांग्रेसका केही नेताले एक्लै हिँड्नुपर्छ भन्ने बताएको भन्दै दाहालले भने, ‘एक्लै हिँड्ने अहंकार गर्न खोज्दा ओह्रालो यात्रा सुरु भएको भन्ने नेपालको इतिहासले देखाएको छ।’राजनीतिक दलहरूमा एकता र सहकार्य हुनुपर्ने प्रचण्डले बताएका छन् ।
कांग्रेस महाधिवेशनले राजनीतिक दलहरूको बीचमा समझदारी कायम गरी सुशासन र विकासको नयाँ युगतिर लाने नेतृत्व चयन गरोस् भन्ने आफ्नो चाहना रहेको दाहालको भनाइ थियो।
कांग्रेस र माओवादी तथा व्यक्तिगत रूपमा आफ्नो विशेष सम्बन्ध रहेको दाहालको भनाइ छ । ‘हामी एक्लै हिँड्ने अहंकार नगरौं, हामी मिलेरै हिँड्ने हो।
राजनीतिक प्रतिस्पर्धा गरे पनि त्यो प्रतिस्पर्धाभित्र एकता खोजिराख्नै पर्ने हुन्छ। यो जे सफलता मिलेको छ त्यो एकता र गठबन्धनबाट मिलेको हो,’ उनले राजनीतिक दलहरूबीचको एकताले नै विभिन्न चरणका जनआन्दोलन सफल भएको बताए।
नेपालका राजनीतिक दल र नेताहरूले बेलाबेला चर्को प्रतिस्पर्धा गरे पनि एकले अर्कासँग हातेमालो गरेरै अघि बढेको प्रचण्डले बताएका थिए।