यातायात व्यवस्था कार्यालयबाट बिचौलिया पक्राउ

काठमाडौँ- यातायात व्यवस्था कार्यालय चन्द्रागिरी ५ गुर्जुधाराबाट १६ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।

कार्यालयमा आउने सेवाग्राहीसंग विचौलियाको कम गरेको जानकारीपछी उनीहरूलाई सोमबार मध्याह्न कार्यालय अगाडिको सडकखण्डबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार कार्यालयमा आउने सेवाग्राहीलाई छिटो र छरितो तरिकाले काम लगाइदिने भनी तोकिएको भन्दा बढी शुल्क लिने गरेको उनीहरुमाथि आरोप छ।

पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका-६ का सुविन लामा, शौरव श्रेष्ठ, राजेश खड्गी, रविन कार्की, अजय महर्जन, हरिकृष्ण पहरी राकु तामाङ, एकेन्द्र बुढा, वीरेन्द्र कटुवाल, सुशान्तराज भण्डारी, विशाल लामा, जीवन मगर, विशाल मेचे, विवेक न्यौपाने, रुद्रबहादुर महत, छिरिङ तामाङ छन्। पक्राउ परेका सबैमा अभद्र व्यवहारको मुद्दा चलाईएको र थप अनुसन्धान कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ।