रूकुम पूर्वमा हिउँमा फसेका १४ मजदुरको सातदिन पछि उद्दार
पूर्वी रुकुम – रूकुम पूर्वमा हिउँमा फसेका १४ मजदुरको सातदिन पछि उद्दार गरिएको छ। जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ घुसदुङमा सडक निर्माणको काममा खटिएका १४ जना मजदुर हिउँ परेपछि ओडारमा बसेर ज्यान जोगाउँदै आएका थिए।
वडाको बजेटले घुसुङमा गोरेटो बाटो निर्माणका लागि उनीहरु खटिएका थिए। यार्सा गुम्बा टिप्न जान सजिलो होस् भनेर त्यहाँ गोरेटो बाटो निर्माणको काम भइरहेको र आइतबारमात्रै मजदुरहरू हिउँमा फसेको जानकारी आएपछि हेलिकप्टर मागेर सोमबार सबैको सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताए।
सोमबार दिउँसो दुई बजेतिर सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर पुगेपछि हिउँमा फसेका १० जना पुरूष र ४ महिलाको सकुशल उद्धार गरिएको बाँस्कोटाले जानकारी दिए। हिउँमा फसेका वडा नम्बर २ पेल्मा गाउँका जोकप्रसाद बुढा, औंसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा, नान्तेन पुन रहेका छन्।