माघ १५ गतेसम्म विद्यालय बन्द हुने

काठमाडौं- आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द हुने भएका छन। कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) आजको बैठकले देशभरका विद्यालय आउँदो माघ १५ गतेसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

आइतवार बसेको बैठकले माघ १५ गतेसम्म हिउँदे बिदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिईन ।

यस्तै बैठकले विद्यालय बन्द रहेकै बेला १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।

साथै बैठकले २५ जनाभन्दा धेरै मानिस भेला हुने गरी सभा-सम्मेलन, महोत्सवलगायतका कार्यक्रम बन्द गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

माघ ३ गतेदेखि सरकारी सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गर्ने, माघ ३ गतेदेखि आन्तरिक उडानमा खोप कार्ड अनिवार्य गर्ने, परीक्षण तथा खोप अभियानलाई तीव्र बनाउने लगायतका निर्णयहरू बैठकले गरेको हो ।

सीसीएमसीसीका निर्णय मन्त्रिपरिषद्काे बैठकले पारित गरेपछि लागू हुनेछन । केहि दिन यता नेपालमा कोरोना संक्रमित बढेको पाईएपछि सबैमा असजाग रहन र स्वास्थ्य मापदण्ड पालन स्वास्थ्य मन्त्रालयले जनाएको छ।