आज एकैदिन कोरोना संक्रमणबाट १६ जनाको ज्यान गयो

काठमाण्डाै – कोरोना संक्रमणबाट थप १६ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सहित नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ५१ जना पुगेको हो।
यस्तै पछिल्लो २४ घण्टामा १० हजार दुई सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी २० हजार एक सय ८७ जनाको नमूना परीक्षण गर्दा ५० दशमलव ९७ प्रतिशत अर्थात १० हजार दुई सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ सय ८ जना निको भएका छन् । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या आठ लाख २० हजार दुई सय ८३ जना पुगेको छ ।
हाल नेपालमा ७२ हजार ८ सय ६२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् भने यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ९६ हजार आठ सय ५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
