एमसीसी पास नगर्दा नेपालको जनसंख्या घट्यो : बाबुराम भट्टराई
काठमान्डौ – जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसद्बाट पारित गर्नुपर्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले आइतबार राति ट्वीट गर्दै एमसीसी पारित गरी सबै एक मुख भएर जनतालाई बुझाउनुपर्ने बताएका छन।
उनले ट्वीटरमा लेखेका छन्, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं ! सबै एकमुख भएर जनतालाई बुझाऊ !’ एमसीसीको वहानामा प्रतिगमनविरोधी गठबन्धन टुट्नु नहुनेमा जोड दिए ।यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’का लागि घाटीको हाड नबनोस् ! देश थप कंगाल बनेर जनसङ्ख्या अरू नघटोस् ! शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् ,’ उनले लेखेको छन् ।
सत्ता गठबन्धनमा एमसीसीका विषयमा गठबन्धन नै टुट्ने चर्चा भइरहेका बेला भट्टराईले यस्तो बताएका छन् । सत्तारुढ दल नेपाली काँग्रेस र जसपा एमसीसी पास गर्ने पक्षमा छ भने माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा विपक्षमा छ ।