प्रचण्डलाई मोहन वैद्यले भने एमसीसी राष्ट्रघाती छ पास गरे राम्रो हुने छैन
फागुन १०,काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले एमसीसी पास नगर्न सुझाव दिएका छन्।प्रचण्ड निवास खुमलटारमा मंगलबार बिहान भएको छलफलमा महासचिव वैद्यले एमसीसी सम्झौताका राष्ट्रघाती बुँदा संशोधन नगरी संसदमा टेबल गरेकोमा जिज्ञासा राखेका थिए ।
प्रचण्डले जवाफमा गठबन्धनमा सहमति भएर नै एमसीसी टेबल गरेको बताएका थिए । सहमतिमा टेबल गरेपनि मतदान गर्नुपरेको अवस्थामा विपक्षमा मतदान गर्छौ भनेर उनले जवाफ दिएका थिए। भेटमा महासचिव वैद्यले एमसीसी राष्ट्रघाती भएको र पास नगर्न प्रचण्डलाई आग्रह गरे। यस्तै एमसीसी पास गरे राम्रो नहुने पनि उनले जनाए।
त्यस्तै महासचिव वैद्यले प्रचण्डसँगको भेटवार्तामा एमसीसीको विरोधमा भएको प्रदर्शनमा समातिएका आफ्ना पार्टीका कार्यकर्तालाई विना शर्त छोड्न पहल गर्न सुझाव दिएका थिए । नेकपा (क्रान्तिकारी माओवादी) बसन्त बोगटी, सुनिता बुढाथोकी लगायतका कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाउने प्रयास गरिरहेको छ ।