काम नसकिदै चीनले गर्यो नेपाललाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण
काठमान्डौ – चीन सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको सहभागितामा तीन दिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले विमानस्थलको साँचो हस्तान्तरण गरेका थिए।
उनले परराष्ट्रमन्त्री नारायण खड्कालाई साँचो हस्तान्तरण गरे।चीन सरकारको सहुलियतपूर्ण २२ अर्ब ऋणमा उक्त विमानस्थल निर्माण गरिएको हो। काम नसकिँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण गरेको भन्दै चिनियाँ प्रतिनिधिहरु असन्तुष्ट रहेको बताइएको छ। हालसम्म विमानस्थलको २५ सय मिटर रनवे, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, पेरीफेरी रोड, ट्याक्सी वे लगायत ठूला निर्माणका सम्पूर्ण काम सकिएको छ।
आयोजनाको अनुसार यसै वर्षको जुलाई १० अगावै आयोजनाका सम्पूर्ण काम सकिने विमानस्थल निर्माणको ठेक्का पाएको चीन सरकारकै स्वामित्वमा रहेको कम्पनी सिएएमसीईले जनाएको छ। राष्ट्रिय गौरवको आयोजनामा समावेश विमानस्थलको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ७४ प्रतिशत पुगेको आयोजनाले जनाएको छ।
विमानस्थलबाट कम्तीमा दैनिक ६ वटा अन्तर्राष्ट्रिय र ४८ वटा आन्तरिक उडान भर्न सकिने नेपाल नागरिक उड्यन प्राधिकरणले दाबी गरेको छ।विमानस्थल सञ्चालन गर्न रिठ्ठेपानी डाँडा कम्तीमा ४० मिटर काट्नुपर्ने देखि पोखरभरिका फोहोर फालिने ल्याण्डफिल साइट र ढल तथा नहर व्यवस्थापन सम्मका थुप्रै कार्य अझै बाँकी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले बताए।