नेपाल र चीनबीच ९ बुँदे सम्झौता पत्रमा हस्ताक्षर, के के छन्

काठमान्डौ – नेपाल र चीनबीच ९ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सिंहदरवारमा आयोजित समारोहमा चिनियाँ विदेशमन्त्री वाङ यीसहितको प्रतिनिधि र परराष्ट्रमन्त्री नारायण खड्कासहितको नेपाली प्रतिनिधिको सभागितामा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नेपाल-चीन अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययन, नेपाल-चीन पावर ग्रिड इन्टर कनेक्सन सम्भाव्यता अध्ययन गर्ने समति भएको हो।

यस्तै नेपालबाट घाँस निर्यात गर्ने समझदारी, चीनमा, तेस्रो चरणअन्तर्गत अरनीको राजमार्ग स्तरोन्नति, रेलवे क्षेत्रमा सहयोग, कोरोनाविरुद्धको खोप सम्झौता सम्बन्धमा सहमति भएको हो। त्यस्तै चितवनस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

आफ्ना चिनियाँ समकक्षीलाई द्विपक्षीय वार्तामा स्वागत गर्दै मन्त्री खड्काले शताब्दीऔँ पुरानो नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने आफ्नो चाहना व्यक्त गरे । चिनियाँ सहयोगमा सञ्चालित विकास–निर्माणका परियोजना समयमै पूरा गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाल–चीन सिमा नाका सञ्चालन नहुँदा नेपालको अर्थतन्त्रमा परेको प्रभाव, कोभिड–१९ को महामारीले आर्थिक गतिविधिमा थपेको समस्या, अर्थतन्त्रको पुनरुत्थानमा नेपालका चुनौती, घट्दो विप्रेषण आप्रवाहलगायत मुलुकले झेल्नुपरेका चुनौतीबारे मन्त्री खड्काले प्रकाश पारेका थिए ।