नयाँ बर्ष आजकै दिनबाट उपत्यकामा भाडा बढ्यो
काठमाडौं – उपत्यकामा सञ्चालित सार्वजनिक यातायातको वृद्धि भएको भाडा आजदेखि कार्यान्वयनमा आएको छ।
बागमती प्रदेश सरकारले बैशाख १ गतेदेखि उपत्यकासहित बागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो।
एक सुचनामा भनिएको छ, देखि लागू हुने गरी बागमती प्रदेशभित्र संचालन हुने सार्वजनिक सवारी साधनको भाडादर देहाय अनुसार हुने गरी यस मन्त्रालयको २४ (माननीय मन्त्रीस्तर) को निर्णयानुसार समायोजन गरिएको छ।
बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाएको हो। उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शुन्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटसम्म ३३ रुपैयाँ र २० किलोमिटरभन्दा माथि रु ३८ भाडादर कायम गरेको छ।
यसैगरी उपत्यका बाहिरका स्थानमा चल्ने सवारी साधनमा भने २०७८ कार्तिक १ देखि यात्रुबाहक सवारीसाधनमा लागु भएको भाडामा १० प्रतिशत वृद्धि गरेको छ।
प्रदेशमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने ट्याक्सीले सुरुमा ५० र प्रति २०० मिटरको भाडादर १० रुपैयाँ, विद्युतीय ट्याक्सी सेवाको हकमा प्रति २०० मिटरको भाडादर ९ रुपैयाँ कायम गरिएको छ।