प्रचण्डले आज कर्णालीका तीन जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने

काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

प्रचण्ड मंगलबार  कर्णाली पुगेर जुम्ला, हुम्ला र कालिकोट जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने जुम्लाका माओवादी नेता मनऋषि धितालले बताए ।

अध्यक्ष प्रचण्डसहित माओवादी कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल, प्रदेश अध्यक्ष मायाप्रसाद शर्मा, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लगायत नेताहरू कर्णालीका चुनावी सभामा पुग्ने भएका छन् ।

मंगलबार प्रचण्ड सहित खड्काले हुम्लाको सर्केगाड,जुम्लाको खलंगा, र कालिकोटका मान्मा बजारमा हुने चुनावी सभालाई सम्बोधन गर्ने धितालले बताए । गठबन्धनको पक्षमा माहौल बनाउन प्रचण्डसहित गठबन्धनका शीर्ष नेता कर्णाली जान लागेका हुन् ।

हुम्लाबाट  प्रतिनिधि सभामा गठबन्धनबाट माओवादी नेता छिरिङ डम्डुल लामा (भोटे) उम्मेदवार छन् भने प्रदेश सभा ‘क’बाट माओवादीका रनसिंह परियार र प्रदेश सभा ‘ख’बाट कांग्रेसका जीवनबहादुर शाही उम्मेदवार छन् ।

शाही प्रदेशको मुख्यमन्त्री भएकाले महत्त्वको साथ हेरिएको छ । यस्तै जुम्लाबाट हुम्लाबाट प्रतिनिधि सभामा गठबन्धनबाट माओवादीकै गोमा गौतम कुँवर छिन् भने प्रदेश सभा ‘क’बाट कांग्रेसका ललितजंग शाही र प्रदेश सभा ‘ख’बाट एकीकृत समाजवादीका पदमबहादुर रोकाय उम्मेदवार छन् ।

कालिकोटबाट प्रतिनिधि सभामा माओवादी नेता महेन्द्रबहादुर शाही उम्मेदवार छन् भने प्रदेश सभा ‘क’बाट दुर्गाबहादुर राउत र प्रदेश सभाबाट कांग्रेसका हिक्मतबहादुर विष्टले उम्मेदवारी दिएका छन् ।

प्रचण्डले आजै बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई पनि सम्बोधन गर्ने तालिका छ । सो सभामा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत गठबन्धनका शीर्ष नेताहरुको सहभागिता रहने समेत जनाएको छ।