काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बन्दै

काठमान्डौ – संसदको सबभन्दा ठूलो दल भएर पनि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले राष्ट्रपतिमा ‘राजनीतिक बाजी’ मारेको छ ।
राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारले सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहित ७ दलको समर्थन पाउने भएका छन् ।
शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयंमले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने प्रस्ताव राखेका थिए ।

काङ्ग्रेसले राष्ट्रपति पाउनुपर्ने दाबी गर्दै आईरहेको थियो । राष्ट्रपतिमा दाबी गर्दै आएको एकीकृत समाजवादीका साथै जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले पनि प्रचण्डको प्रस्तावलाई समर्थन गरेका छन् ।

राष्ट्रपतिको उम्मेदवार तय गर्न कांग्रेसले आज बिहान साढे ८ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौलाको दाबी छ ।

कपितयले सभापति शेरबहादुर देउवा राष्ट्रपति बन्न सुझाएका छन् । तर उनले अहिलेसम्म कुनै रुची देखाएका छैनन् । एक नेता भन्छन्, ‘उहाँले नै चाहनुभयो भने त सजिलै सहमति जुट्छ, तर अहिलेसम्म उहाँले आफू उम्मेदवार बन्ने संकेत समेत गर्नु भएको छ ।

त्यसैले आज पौडेल र सिटौला मध्ये एक उम्मेदवार हुने सम्भावना छ । कांग्रेसका शीर्ष नेताहरुका अनुसार कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा पौडेलको नाम करिब टुंगिए जस्तै हो ।

संसदीय दलको निर्वाचनका क्रममा पौडेललाई वचन दिएका कारण पनि देउवा दबावमा छन् । १४औं महाधिवेशनमा तटस्थ रहेर देउवालाई सहयोग गरेका पौडेल संसदीय दलको चुनावमा प्रस्तावक नै बसेका थिए । देउवा पक्षका केही नेता राष्ट्रपति बनाउने प्रतिवद्धता जनाएपछि मात्र पौडेल देउवाको समर्थन बसेको नेताहरु बताउँछन् ।

राष्ट्रपतिको चुनावमा कांग्रेसको जित पक्का जस्तै छ ।
संघीय र प्रदेश सभाका सांसदको मतदानबाट राष्ट्रपति हुन कुल ५२ हजार ६२८ मत भारमा ५० प्रतिशत बढी अर्थात २६ हजार ३१५ मतभार पुर्‍याउनु पर्दछ ।

कांग्रेससँग १६ हजार १४२, माओवादीसँग ७ हजार ७४५, एकीकृत समाजवादीसँग दुई हजार ५७४, जसपासँग दुई हजार १४५ मतभार छ । जनमत, नागरिक उन्मुक्ति, लोसपा र राष्ट्रिय जनमोर्चा पनि थपिएकाले २५ फागुनमा हुने निर्वाचनको नतिताप्रति कांग्रेस ढुक्क छ । फागुन १३