अब बाँदरले मकै खाए १० हजार क्षतिपूर्ति पाईने

साउन १९

काठमान्डौ – सरकारले वन्यजन्तुका कारण बालीनालीमा पुगेको क्षतिपूर्ति दिन ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० कार्यान्वयनमा ल्याएको छ।

वन्यजन्तुबाट हुने मानवीय तथा पशुपालकलाई दिइने राहत रकम विस्तार र वृद्धि गर्दै नयाँ निर्देशिका ल्याएको हो।
साउन १ गतेदेखि कार्यान्वयनमा आएको सो निर्देशिकाअनुसार हात्ती, बाघ, बाँदर र नीलगाई लगायतका १६ वन्यजन्तुका कारण बालीमा क्षति पुगे क्षतिपूर्ति दिइनेछ।

यसअघि १४ वटा जंगली जनावरका कारण मानवीय, संरचना तथा बालीमा क्षति भए राहत दिने प्रावधान रहेको थियो।
यस्तै अब बाँदरले बालीनालीमा क्षति गरेमासमेत क्षतिपूर्तिका लागि दाबी गर्न सकिने छ।

बालीको क्षति भएको हकमा एक मौसममा लगाएको बालीको एक पटक र वर्षमा दुई बालीका लागि मूल्यांकनका आधारमा अधिकतम १० हजार रुपैयाँसम्म हकदाबी गर्न सकिने गरी निर्देशिकाले तोकेको छ।

सरकारी तवरबाट बालीको बीमा गरेको अवस्थामा बालीको क्षतिको राहत उपलब्ध गराउँदा बीमाबाट प्राप्त रकम कटाएर मात्र उपलब्ध गराइने व्यवस्था रहेको छ। निजी जमिनमा लगाएको बालीमा बाँदरसहितका वन्यजन्तुले क्षति पुर्‍याएमा राहत माग्न पाइने भएको छ।

यस्तै वन्यजन्तुको आक्रमणबाट मानिस सामान्य घाइते, गम्भीर घाइते वा मृत्यु भएमा ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८०’को प्रावधान अनुसार सबै क्षतिपूर्ति पाइनेछ। अर्थात् वन्यजन्तुको आक्रमणबाट सामान्य घाइतेलाई स्वास्थ्य संस्थाको सिफारिसमा बिल अनुसार २० हजार क्षतिपूर्ति दिइने भएको हो।

गम्भीर घाइते भएमा २ लाख रुपैयाँसम्म रकम दिने र २ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अवस्था भएमा नजिकको जुनसुकै अस्पतालमा इमर्जेन्सी उपचार गराउँदा लागेको खर्च र त्यसपछि सरकारी अस्पतालमा उपचार गराउँदा लागेको सम्पूर्ण खर्चसमेत अस्पतालका चिकित्सकको सिफारिसमा सरकारले उपलब्ध गराउने छ।

अंगभंग भई जीवनभर शारीरिक रुपले असक्त हुने अवस्थाको व्यक्ति वा निजको हकवालालाई अब जिविकोपार्जनका लागि एकमुष्ट ५ लाख रुपैयाँ दिइने भएको छ। मृत्यु भएको व्यक्तिको हकमा नजिकको हकवालाले १० लाख रुपैयाँ पाउनेछन्।

गम्भीर घाइते भई उपचाररत रहेको व्यक्ति अस्पतालबाट डिस्चार्ज भएपछि सोही कारणले ३५ दिन भित्र मृत्यु भएमा वा अस्पतालमा थलिएर मृत्यु भएमा अस्पतालको खर्चसहित मृत्यु हुने व्यक्तिका हकवालाले पाउने राहत रकमसमेत पाउनेछन्।