बोका चोरेर जेलबाट छुटेका कालू खसी चोरेर पक्राउ
असोज ५
लमजुङ – बोका चोरी गरेको अभियोगमा प्रहरीले लमजुङबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा क्व्होलासोथार गाउँपालिका ,४ भुजुङका घर भएका ३४ वर्षीय कालु गुरुङ छन।
लमजुङको मध्यनेपाल नगरपालिका-६ का शिरोमणि भट्टराईको दुई वटा बोका चोरी गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।उनी दुई महिना बोका चोरी गरेको आरोपमा पक्राउ परि धरौटीमा छुटेका थिए ।
असोज ३ गते बुधबार रातीदेखि बोका हराएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियोे । त्यसपछि मध्यनेपाल नगरपालिका-५ रिङ्नेको जंगलमा बोका फेला परेको थियो।
आरोपित गुरुङले उक्त बोका बिक्री गर्नका लागि तनहुँको दमौलीतर्फ लैजाँदै गर्दा प्रहरीले पिछा गरेको थाहा पाए पछि उक्त बोकाहरु जंगलमै छाडेर फरार भएका थिए।
उनलाई मध्यनेपाल नगरपालिका-५ पराजुलीबेसीबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए।
आरोपित गुरुङ उपर जिल्ला अदालत लमजुङबाट चोरी सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि लमजुङको बेसीशहर नगरपालिका वडा न- ०९ साम्दी बस्ने शान्ति बहादुर बस्नेतको खोरबाट एउटा खसी र सोही ठाउँ बस्ने गोविन्द बिकको घरबाट एउटा खसी चोरी गरी बिक्री वितरण गर्न बेसीशहरबाट डुम्रे तर्फ जाँदै गरेको बसको डिक्किमा राख्दै गर्दा गुरुङ पक्राउ परेका थिए।
त्यसपछि अदालतमा मुद्दा दर्ता गरी फैसला नहुञ्जेलसम्मका लागि ५० हजार रुपैयाँ धरौटी तिरेर छुटेका थिए । गुरुङ फेरो पनि बोका चोरेको आरोपमा पक्राउ परेका हुन्।