भूकम्प पीडितलाई सरकारले घर निर्माण गरिदिने
काठमाडौं – सरकारले भूकम्पबाट घर पूर्णरुपमा क्षति भएका भूकम्प पीडितलाई तत्काल राहतस्वरुप ५० हजार रुपैयाँ राहत दिने भएको छ ।
भूकम्प प्रभावितको अवस्था बझ्न आज बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम घोषणा गरेका हुन् ।
यस्तै भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च दिने भएको छ ।
राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन गरिनेछ भने थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बताइएको छ ।
त्यस्तै भूकम्पमा परी घाइते । भएकाहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको छ ।यसैगरि भूकम्पले निम्त्याएको पहिरोमा परी मृत्यु भएकाको परिवारलाई तत्काल २ लाख सहयोग दिने भएको छ ।
भूकम्पले भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालीन पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकनका आधारमा कार्यविधि बनाई स्थानीय सामग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निर्माणको काम अगाडि बढाइने प्रतिबद्धता जनाएको छ ।
सरकारी कार्यालय, सामुदायिक भवन,स्कूल आदि क्षति पुगेका संरचनाहरूको यथाशीघ्र पुनः निर्माण गरिने समेत जनाइएको छ ।