जाजरकोटमा १३ हजार भूकम्पपीडितले अझै पहिलो किस्ता रकम पाएनन

जाजरकोट – जाजरकोट भूकम्पको दुई महिना नाघिसकेको छ । गत कात्तिक १७ गते गएको भूकम्पबाट जाजरकोटमा ३५ हजार घर भत्किएकोमा अस्थायी आवास बनाउन अझै १३ हजार लाभग्राहीले पहिलो किस्ता बापतको रकम पाउन सकेका छैनन् ।
जाजरकोटका भूकम्प प्रभावित ३५ हजार १ सय ४० लाभग्राहीमध्ये हालसम्म २१ हजार ९ सय ४६ जनाले पहिलो किस्ताका लागि सम्बन्धित पालिकामा सम्झौता गरेका छन् । १३ हजारभन्दा बढी प्रभावितले पहिलो किस्ता अझै नपाएका हुन् ।

जुनीचाँदे गाउँपालिकाका २ हजार ५ सय ६३ मध्ये हालसम्म १ सय ५५ जनालाई अस्थायी आवासबापतको पहिलो किस्ता वितरण गरिएको छ । बाँकी परिवार जोखिम मोलेर चर्किएको घरभित्र बस्न बाध्य छन् ।

जिल्ला विपत् व्यवस्थापन समितिले जुनीचाँदेका लाभग्राहीका लागि एक साता अघि नै स्थानीय विपत् व्यवस्थापन समितको खातामा ६ करोड ४० लाख ७५ हजार रुपैयाँ पठाइसके पनि ढिला गरी बाँड्न थालिएको हो । सदरमुकामसमेत रहेको भेरी नगरपालिकामा ६ हजार ६ सय ३१ लाभग्राही कायम भएकोमा हालसम्म ४ हजार ४ सय ७८ ले पहिलो किस्ता पाएका छन् ।

त्यहाँ हालसम्म १ सय ५० मात्र अस्थायी आवास बनेका छन् । त्यस्तै नलगाड नगरपालिकामा ८ हजार ९७ लाभग्राही कायम भएकोमा २ सय ३४ ले मात्रै पहिलो किस्ता पाएका छन् ।

जिल्लाभर हालसम्म ८ हजार ९ सय ७६  अस्थायी आवास निर्माण हुँदा प्रभावितले रकम नपाएकैले जुनीचाँदेमा अहिलेसम्म एउटा पनि अस्थायी आवास बनेको छैन । पुष १८