केकमा गाँजा मिसाएर बेचेको आरोपमा एक जना पक्राउ
पुष २२
काठमान्डौ – केकमा गाँजा मिसाएर बेचेको आरोपमा एक जना पक्राउ परेका छन।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमान्डौ महानगरपालिका वडा नम्बर १९ घट्टेकुलो बस्ने २६ वर्षका विशन मानन्धरलाई पक्राउ गरेको ब्युराेका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए।
इन्स्टाग्राममा अकाउन्ट बनाई त्यसमार्फत प्रचार गरेर गाँजा मिसाएको केक बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा मान्नधरलाई घरबाटै पक्राउ गरेको एसपी जाेशीले बताए ।
मानन्धरको कोठाबाट प्रहरीले एक सय २१ ग्राम गाँजाको धुलो, तयारी अवस्थाको केकको झोल, तीन किलो सात सय ५४ ग्राम गाँजा लगायत बरामद गरेको छ ।
उनले आफ्नो घरमा एक वर्षदेखि गाँजा मिसाएका केक बनाएर अनलाइन डेलिभरी गर्ने गरेको अनुसंधानबाट खुल्न आएको एसपी जोशीले बताए ।