रुकुम चौरजहारी

गायिका एलिना चौहानले मागिन माफी

फागुन २६

रुकुम आठ विसकोट

काठमान्डौ – गायिका एलिना चौहानले साउण्ड टेक्निसियनसँग विवाद घटनामा आत्मालोचना गरेकी छन् ।

घटनालाई लिएर साउण्ड सिस्टम व्यवसायीले आपत्ति जनाएपछि चौहानले माफी मागेकी हुन् ।

साउण्ड सिस्टम व्यवसायीले चौहानका कुनैपनि कार्यक्रममा उपकरण उपलब्ध नगराउने चेतावनी दिएपछि उनले शनिबार फेसबुकमार्फत माफी मागेकी हुन् ।

उक्त घटनामा आफू आवश्यकताभन्दा बढी प्रतिकारात्मक देखिन पुगेको उनले उल्लेख गरेकी छन् ।

सामाजिक सञ्जालमा लेखेकी छन्- मञ्चिय प्रस्तुतिका क्रममा साउण्ड इन्जिनियरबाट हुने गरेका सामान्य कमी कमजोरीलाई माइकबाटै राखिदिने स्वभावलाई मैले मेरो कमजोरीका रूपमा स्वीकार गर्दछु । आगामी दिनमा म त्यसप्रति चनाखो हुने प्रतिबद्धता व्यक्त गर्दछु ।

गत फागुन २० गते पर्वतस्थित कुश्मामा आयोजित मगर महोत्सवमा गायिका चौहानले साउन्ड इन्जिनियर र टेक्निसियनमाथि अभद्र व्यवहार गरेको व्यवसायीको आरोप छ ।
चौहानले गल्तीको महसुस गरी माफी नमागेसम्म साउन्ड सिस्टम कम्पनी सञ्चालक, साउन्ड इन्जिनियर, टेक्निसियनले एलिना चौहान उपस्थित भएको कुनै पनि कार्यक्रम र ठाउँमा आगामी दिनमा साउन्ड सिस्टम उपलब्ध नगराउने घोषणासमेत गरेका थिए ।

जीवन भनेकै सिकाई र भोगाई त रहेछ। देश तथा विदेशका श्रोता दर्शकको माया नै मेरा लागि अक्सिजन हो। त्यहि कारण म जे छु आज छु। हिजो जस्ती थिए उस्तै छु। सफलता र प्राप्तिले मलाई आफ्नो धरातल कहिल्यै बिर्साएन। बिर्सिने पनि छैन। किनकी मलाई त भुँईबाट उठाएर तपाईंहरुले गायिका बनाउनुभयो।
तपाईंहरुकै मायाले आज देश तथा विदेशका आयोजकहरुले मलाई मञ्च उपलब्ध गराईरहनुभएको छ। त्यसैले पनि पारिश्रमिकलाई महत्व नदिई सकेसम्म म सबै जसो ठाउँमा पुग्ने प्रयास गरिरहेकै छु।
साउण्ड ईन्जिनियर, रेकर्डिष्ट, छाँयाकार, अडियो/ भिडियो सम्पादक सबै पर्दा पछाडीका हिरो हुन। जो हामीलाई दर्शक श्रोता बिच पुर्याउने मुल पात्र नै हुनुहुन्छ भन्ने मैले मसिनो गरि बुझेको छु। म उहाँहरुको सम्मान र स्वाभिमान प्रति सधै सचेत छु।
यति हुदा हुदै पनि गत हप्ता पर्वतको एउटा साङ्गीतिक कार्यक्रममा प्रस्तुतीका लागि पुग्दा त्यहाँ एउटा आकस्मिक घटना हुन पुग्यो, जुन नहुनु पर्ने थियो।
सो घटनामा तत्कालिन समयमा म आवश्यकता भन्दा बढी प्रतिकारात्मक देखिन पुगेका प्रति आत्मालोचना गर्दछु। मञ्चिय प्रस्तुतीका क्रममा साउण्ड ईन्जिनियरबाट हुने गरेका सामान्य कमी कमजोरीलाई माईकबाटै राखिदिने स्वाभावलाई मैले मेरो कमजोरीका रुपमा स्वीकार गर्दछु। आगामी दिनहरुमा म त्यस प्रति चनाखो हुने प्रतिबद्धता व्यक्त गर्दछु। जय गीत, जय संगीत।

गायिका
एलिना चौहान।