रवि लामिछाने भाग्न सक्ने भन्दै घरमै पुग्यो प्रहरी

चैत २२

काठमाडौँ  –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ गर्न प्रहरी उनकै घरमा पुगेको छ।

रविलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली हात्तीगौंडास्थित उनको निवास पुगेको स्रोतले बताएको छ। स्रोतका अनुसार प्रहरी वृत्त महाराजगन्जका प्रहरी पनि छन्।

शुक्रबार बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई थुनामा पठाउने आदेश दिएको हो।

यसअघि माघ १३ गते रविलाई एक करोड रूपैयाँ धरौटीमा छाड्न रूपन्देही अदालतको आदेश दिएको थियो। त्यसपछि फागुन १६ गते रविले जिल्ला अदालत रूपन्देहीको आदेश बदर गरी पाऊँ भन्दै उच्च अदालत बुटवलमा पुनरावेदन निवेदन दिएका थिए।

बुटवलको सुप्रिम सहकारीले बचतकर्ताको १ अर्ब रूपैयाँ भन्दा बढी रकम ठगेको भन्दै प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा निवेदन परेको थियो।

निवेदनमा सहकारी संस्थाका संचालक र पदाधिकारीलाई नियमानुसार कारबाहीको माग गरिएको थियो। सुप्रिम सहकारी संस्थाले एकै जना बचतकर्ताको साढे तीन करोड रूपैयाँसम्म ठगी गरेको उजुरी परेको कार्यालयले जनाएको छ।