रातभर डिस्कोमा नाचेर डिस्टर्ब गर्न पाइँदैन, महानिरीक्षक खनाल ,,

मंसिर,१७ चितवन – रातको समयमा गुञ्जयमान हुनेगरी डिस्कोमा नाचेर अरुलाई डिस्टर्ब गर्न नपाइने नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् । ‘हाम्रो सामाजिक परिवेश अनुसार मर्यादित व्यवसाय गरिनुपर्दछ,’ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आयोजित अन्तरक्रिया कार्यक्रममा खनालले भने, ‘रातको समयमा डिस्को नाचेर डिस्टर्व गर्न पाइँदैन ।

पर्यटकीय क्षेत्रमा कार्यक्रमको प्रकृति हेरेर समय उपलब्ध गराउन सकिने भन्दै उनले अभद्र र अनैतिक गतिविधि सञ्चालन हुन नदिने प्रष्ट पारे ।पर्यटनको माध्यमबाट देशको आमूल विकास गर्न सकिने सम्भावना औंल्याउँदै खनालले यो क्षेत्रलाई मर्यादित र व्यवसायिक बनाउन सुझाए ।

‘अभद्र, अशिष्ट र छाडा कामले नेपालकै इज्जतमा धक्का लाग्ने भएकाले देशको इज्जत उचो हुनेगरी पर्यटन व्यवसाय चलाउनुस्’, खनालले पर्यटन व्यवसायीहरुलाई सुझाव दिँदै भने ।सौराहामा प्रहरी पेट्रोलिङका लागि खनालले ७ वटा मोटरसाइकल समेत उक्त अवसरमा हस्तान्तरण गरेका छन् ।

सौराहाको निर्वाध पर्यटकीय गतिविधी र सुरक्षाका लागि ५ दरवन्दी थप्ने जानकारी पनि उनले दिएका छन् । सौराहा देशकै पर्यटकीय केन्द्र भएकाले यसको सुरक्षाका लागि नेपाल प्रहरीले योजनावद्ध ढंगले काम गर्ने प्रतिबद्धता पनि खनालले उक्त अवसरमा जनाए ।सीमित स्रोत र साधानका कारण विगतमा प्रहरी माग्नेजस्तो अवस्थामा पुगेको दुखेसो गर्दै खनालले स्थानीय तहसँग साँझेदारी गरेर अघि बढ्ने योजना सुनाएका छन् ।