भारतीय अर्केस्ट्रमा नेपाली चेली ,मानव बेचबिखनको फेरिदो स्वरुप

पौष ३० आईतबार २०७४ – पर्सा — रौतहट गमहरियाकी १८ वर्षीया रविना खातुन (नाम परिवर्तन) र उदयपुर गाईघाटकी १६ वर्षीया राधा चमार (नाम परिवर्तन) लाई प्रहरीले वीरगञ्जस्थित नेपाल भारत सीमामा फेला पार्यो ।
रविनालाई वीरगञ्ज घर बताउने अर्जुन कलवारले घरायसी काम लगाइ दिने भनी बोलाएका थिए । १४ वर्षीया साथी सीतालाई लिएर उनी घरबाट भागेकी थिइन ।
रविना, राधा र सीतालाई वीरगञ्ज नाकाबाट केही पर गाउँको बाटो हुँदै भारत लगियो । भारतको अज्ञात गाउँमा लगेर पारस बैठाले सञ्चालन गरेको अर्केष्ट्रा (पेशेवर नृत्य समूह) मा उनीहरुलाई जोडियो ।

पहिलो साता राम्रो व्यवहार भए पनि पछि कुट्दै नृत्यको तालिम दिन थालिएको उनीहरु बताउँछन् । जबर्जस्ती विवाह र अन्य समारोहमा नाच्न लगाइन्थ्यो ।
छोटो कपडा लगाएर नाच्नुपर्ने बाध्यता थियो । दैनिक पारिश्रमिक एकहजार ५ सय भारु दिने भनिए पनि नदिइएको पीडितहरु बताउँछन् । शोषण बढेपछि उनीहरु भागेर नेपालको सीमासम्म आइपुगे ।

भाडा माझ्ने बहानामा रविना र राधा भागेर नेपाल सीमासम्म आइ पुगे । सीता सीमा पारी अर्केष्ट्रा समूहकै चंगुलमा छिन् । रविना र राधालाई भने माइती नेपाल वीरगञ्ज शाखाले अभिभावक बोलाई जिम्मा लगाएर पठायो । उनीहरुले अब कहिल्यै कामको लोभमा भारत नजाने बताए ।
स्याङ्गजा वालिङ घर भएकी नाम मात्र लेख्न सक्ने सोनी मगर (नाम परिवर्तन) को कथा व्यथा पनि उस्तै छ । गाउँकै तारा भन्ने एक महिलाले मैनबत्ती बनाउने काम पाइन्छ भनेर उनलाई भारत बिहारको बगाहा पुर्याइदिइन् । त्यहाँ पुगेपछि मैनबत्ती उद्योगमा नभई अर्केष्ट्रामा नृत्य गर्ने काम गर्नुपर्यो उनले । उनले पनि त्यहाँ नारकीय यातना भोगिन् । माइती नेपाल वीरगञ्ज शाखाले भारतीय प्रहरीसँग समन्वय गरी उनलाई बगाहा पुगेरै उद्दार गरी नेपाल ल्याएको हो ।
यी त केही प्रतिनिधि घटना मात्रै हुन् । भागेर आउने आँट नभएका र माइती नेपाल तथा भारतीय प्रहरीको नजरमा नपरेका रविना, राधा र सीताजस्ता थुप्रै नेपाली चेलीहरु अहिले सीमावर्ती भारतीय बजारहरुमा फष्टाएको अर्केष्ट्रा व्यवसायमा दैनिक शोषित हुँदै आएका छन् ।
माइती नेपाल वीरगञ्जकी प्रमुख संगीता पुरी ३/४ वर्षयता नेपाली चेलीहरु ठूलो संख्यामा यसरी अर्केष्ट्रा नृत्य समूहमा जानेर वा नजानेर जोडिन पुगेको बताउँछिन् ।
‘धेरैलाई त अन्य र आकर्षक कामको लोभ दिएर भारत लगिएको हुन्छ, केहीलाई भने अर्केष्ट्रा नै भनेर पनि लगिएको हुन्छ,’ पुरी भन्छिन्, ‘तर त्यहाँ पुगेर कामबाट सन्तुष्ट हुने कुरो त परै जाओस्, शारीरिक र मानसिक यातनाले विक्षिप्त हुन पुग्छन् उनीहरु ।
कान्तिपुर बाट साभार
