यस्तो छ मेलम्ची योजना ,,

रंग दर्पण    १२ माघ, काठमाडौं । धेरैलाई लाग्छ काठमाडौंमा मेलम्ची आएपछि पानीको अभाव नै हुँदैन, धारमा लगातार पानी आइरहन्छ । तर, अवस्था भने त्यस्तो छैन । मेलम्ची खानेपानी आयोजनाको भनाइलाई विश्वास गर्ने हो भने मेलम्ची आएपछि उपभोक्ताको धारामा दैनिक ४ देखि ५ घण्टा पानी झर्नेछ ।

अहिले हप्तामा एक घण्टा पनि पानी नपाएर अक्रान्त बनेको काठमाडौंलाई दिनमा ५ घण्टा नै पानी आए पनि कम्ता राहत मिल्ने छैन ।

आयोजनाकाअनुसार पानीको अभाव भने मेलम्चीले मेटाइहाल्ने अवस्था छैन । काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकाल मेलम्ची आएपछि दैनिक ५ घण्टासम्म पानी वितरण गर्न सकिने प्रारम्भिक अनमान गरिएको सुनाउँछन् ।

मेलम्ची आयोजनाबाट अहिले दिनमा १७ करोड लिटर पानी आउनेछ । तर, माग त्यो भन्दा निकै उच्च छ । अहिले केयूकेएलले दैनिक १० करोड लिटर पानी वितरण गरिरहेको छ माग भने ३८ करोड लिटरभन्दा माथि छ ।

‘यांग्री र लार्के खोलाको पानी मेलम्चीमा नमिसाएसम्म दिनमा ४ देखि ५ घण्टामा मात्रै पानी बाँड्न सकिन्छ भन्ने अनुमान छ । हामी त्यसको वितरण सञ्जाल निर्माणका लागि द्रुत गतिमै काम गरिरहेका छौं,’ ढकालले भने ।

अहिले मेलम्चीको सुरुङमा सिन्धुपाल्चोकका यांग्री र लार्के खोलाबाट थप ३४ करोड लिटर पानी मिसाउने गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार हुँदैछ ।

प्रवक्ता ढकाल मेलम्चीको पानी आएपछि उपभोक्तालाई कति पानी कुन-कुन समयमा दिने भनेर निर्णय हुन बाँकी रहेको बताउँछन् ।

सरकारको पछिल्लो दावीलाई मान्ने हो भने वैशाखभित्रमा मेलम्चीको पानी काठमाडौं झर्नेछ । तर, धेरै कामहरु बाँकी रहेकाले सरकारी दावीमा अविश्वास कायमै छ ।

आयोजना कार्यान्वयन निर्देशनालयले आफूले गरेको कामका समबन्धमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा ढकालले मेलम्ची आएपछि पनि चक्रपथ र त्यस आसपासका एक तिहाई क्षेत्रमा पुरानै पाइपमार्फत नै पानी वितरण गरिने बताए ।

उनकाअनुसार धुम्बाराही, महाराजगञ्ज, समाखुसीदेखि कलंकीसम्मका रिंगोरोड क्षेत्रमा अझै पनि पुराना पाइप हटाएर नयाँ हाल्न बाँकी छ । अन्य क्षेत्रमा भने पाइपलाइन बिछ्याउने काम लगभग सकिएको छ ।

मुख्य वितरण लाइनको ७७ किलोमिटर मध्ये करिब ६६ किलोमिटरमा पाइप बिछयाइसकेको उनले जानकारी दिए । त्यसैगरी अहिले काम भइरहेको ७५० किलोमिटर उपभोक्ताको घरसम्मको वितरण सञ्जाल निर्माणको काममध्ये ६५० किलोमिटरमा पाइप बिछ्याइसकिएको छ ।

तर, धुम्बाराहीदेखि कलंकीसम्मको रिंगरोड आसपास ३०० किलोमिटर पाइप बिछ्याउन बजेट अभाव भएको उनले बताए ।

‘यो क्षेत्रमा मेलम्ची आएपछि पनि पुरानै वितरण लाइनमा पानी जोडिन्छ । यो क्षेत्रमा पाइप फेर्न ८ अर्ब रुपैयाँ लाग्ने अनुमान छ,’ ढकालले भने,’एशीयाली विकास बैंक (एडीबी)ले ऋण स्वीकृत गरेपछि हामी टेण्डरमा जान्छौं ।’

एडीबीले उपत्याकामा पाइपलाइन सञ्जालको सुदृढीकरण, ढल प्रणालीको आधुनिकीकरण तथा पानी ट्यांकी निर्माणका लागि ८४ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ ।

पीआईडीले कुल ८४ हजार २१७ घरधुरीमा नयाँ पाइपलाइनको सञ्जाल पुर्‍याउनेछ । त्यसमध्ये अहलेसम्म ४५ हजार १८६ घरधुरीमा नयाँ पाइपलाइन पुर्‍याइसकिएको ढकालले बताए ।

एक तिहाई घरधुरीले भने मेलम्ची आएपछि पनि केही समय पुरानै वितरण प्रणालीबाट पानी पाउनेछन् ।

अहिले विभिन्न स्थानमा गरेर ७ करोड ४५ लाख लिटर पानी अटाउने ट्यांकीहरु पनि निर्माण भइररहेको छ ।

८ वटा ट्यांकीहरुको निर्माण पनि अन्तिम चरणमा रहेको र भक्तपुरको कटुञ्जेमा एउटा मात्रै ट्यांकीको निर्माण भर्खरै सुरु भएको पीआईडीले जनाएको छ ।

मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलमा ८ करोड लिटरको पानी प्रशोधन केन्द्र बनाएर परीक्षण सकिएको छ । अब अर्को ८ करोड लिटरको प्रशोधन केन्द्रको पनि परीक्षण पनि केही समयमै गरिने निर्देशनालयले जनाएको छ ।

‘पानी आएपछि सुरुवातमा हामीले रिजभ्वार्यरसहित पाइपलाइन सफा गर्छौं,’ नयाँ लाइन नुगेका उपभोक्ताले तत्कालै पानी पाउनुहन्छ । तर, नयाँ पाइपमार्फत जोडिएका घरमा केही समय लाग्ला,’ ढकाल भन्छन्,’तर, पानी आउनासाथ वितरण सञ्जालमा पानी जान्छ । सुरुवातमा पुरानौ लाइनबटै पानी दिन्छौं ।’

पुरानो पाइपलाइन निकै पुरानो भएकाले लिकेजको समस्या पनि हुन सक्ने ढकालले बताए ।